इन्डोनेशियाको राजधानीसहित विश्वका सहर पनि डुब्दै
जाकर्ता । इन्डोनेशियाले जाभा समुद्रस्थित जकार्ता सहर डुब्दै गएपछि राजधानी नै सार्ने निर्णय गरेको छ । वर्ल्ड इकोनोमिक फोरमका अनुसार जकार्ता विश्वको सबैभन्दा छिटो डुबिरहेको सहर हो ।
बढ्दो समुद्री सतह र जमिनमुनिको पानी अत्यधिक मात्रामा निस्कासन गरिएको परिणामस्वरुप यस्तो भएको विज्ञहरुको भनाइ छ । तर यसरी डुब्दै जाने सहरमा यो मात्र पर्दैन । विश्वका अन्य थुप्रै सहरहरु आगामी भविष्यमा पूर्ण रुपमा दबिने खतरामा छन् ।
हस्टन
अमेरिकाको टेक्ससस्थित हस्टन सहर पनि जमिनमुनिको पानी अत्यधिक निस्कासन गरिएका कारण तलतल दबिँदै गएको बताइएको छ । हस्टन क्रोनिकलले रिपोर्ट गरे अनुसार सन् १९२० देखि सो सहर करिब तीन मिटर डुबिसकेको छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार अहिले वार्षिक दुई इन्चले सहर डुब्दै गइरहेको छ जसको गति छिटै बढ्न सक्ने अनुमान गरिएको छ ।
लागोस
नाइजेरियाको लागोस सहर, अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो । भौगोलिक अवस्थाका कारण यो सहर विशेषगरी बाढीको सबैभन्दा उच्च जोखिममा पर्दछ ।
यस्तोमा जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहले सहर झन् ठूलो समस्यामा परेको हो । २०१२ को एक अनुसन्धानअनुसार नाइजेरियाको समुद्री तट तल भएकाले पनि समुद्री सतह केबल १ मिटरले वृद्धि हुँदा पनि सो क्षेत्रका बासिन्दा ठूलो संकटमा पर्न सक्छन् ।
न्यु ओर्लिन्स
१९३० पछिदेखि नै न्यु ओर्लिन्सको एक तिहाइ भूभाग समुद्री सतहभन्दा तल रहँदै आएको छ । यसैबीच २००५ को कटरीना तुफान आउँदा यो भूभाग आधा हुन पुगेको हो ।
त्यसैले पनि यस सहरलाई बढ्दो समुद्री सतहप्रति अत्यन्तै संवेदनशील मानिन्छ । सहर एकदम खुकुलो माटोमा निर्मित र कोस्टको नजिक अवस्थित भएकाले नै जोखिमयुक्त मानिएको हो । वैज्ञानिकहरुका अनुसार यो सहर एक सेन्टिमिटर प्रतिवर्षले तल खस्दै गइरहेको छ ।
बेइजिङ
२०१६ मा गरिएको एक अध्ययनका अनुसार बेइजिङका केही क्षेत्र वार्षिक १० सेन्टिमिटरले डुब्दै गइरहेका छन् । अनुसन्धानकर्ताहरुले जमिन मुनिको पानी अत्याधिक मात्रामा निस्कासन गरेकै कारण यस्तो भइरहेको निष्कर्ष निकालेका छन् । यसरी समुद्री तटमा अवस्थित सहर नभएपनि यो सहर जमिन मुनिको पानीमै सबैभन्दा बढी निर्भर छ । यसरी धेरै वर्षदेखि पानी निकालिँदा बिस्तारै मुहान सुकेर माटो हल्का हुँदै सहर लाई तल पु्र्याइरहेको बताइएको छ ।
वासिङटन
अमेरिकाको राजधानी वासिङटन पनि डुब्दै गइरहेको छ । २०१५ मा गरिएको एक अनुसन्धानले अबको १०० वर्षमा यो सहर १५ सेन्टिमिटर भन्दा धेरै तल दबिने देखाएको छ । तर पनि जर्काता जसरी यसमा बढ्दो समुद्री सतहको कुनै प्रभाव नभएको बताइएको छ ।
वास्तवमा ‘आइस एज’ देखिको ‘आइस सीट’ का कारण यस्तो भएको बताइएको छ ।
करिब १।६ किलोमिटर उँचो आइस सिटले नै जमिनलाई माथितर्फ धकेलेको थियो । यसबीच हजारौँ वर्ष अगाडि जब आइस सिट पग्लियो, जमिन तल स्थापित भयो । त्यसैले अब सो जमिन केही हजार वर्षसम्म मात्र अहिलेको अवस्थामा रहने र बिस्तारै डुब्दै जाने अनुसन्धानकर्ताहरुको भनाइ छ । यसमा बढ्दो समुद्री सतहले समस्यालाई झन बढाउन सक्ने बताइएको छ ।