ट्विटरका दुई पूर्वकर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको अभियोग
अमेरिका । संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल ट्विटरका दुई पूर्वकर्मचारीमाथि साउदी अरबका लागि जासुसी गरेको अभियोग लगाइएको छ।
बुधवार सान फ्रान्सिस्कोमा सार्वजनिक अभियोगअनुसार साउदी गुप्तचरहरूले नाम चलेका साउदी आलोचक तथा अन्य दुई प्रयोगकर्ताका व्यक्तिगत जानकारी मागेका थिए।
वाशिङ्टन पोस्टले छापेको अदालतका कागजपत्रमा उल्लेख गरिएअनुसार आरोपितहरूमा अमेरिकी नागरिक अहमद अबुआमो र साउदी नागरिक अली अल्जाबराह रहेका छन्।
अहमद अल्मुतैरी नाम गरेका तेस्रा साउदी नागरिकमाथि पनि जासुसी गरेको आरोप लगाइएको छ।
अल्मुतैरीले ट्विटरका दुई कर्मचारी र साउदी अधिकारीहरूबीच मध्यस्थकर्ताको काम गरेको आरोप छ।
अबुआमोलाई बुधवार सीयाटलस्थित अदालतमा उपस्थित गराइएको थियो र अहिले उनी हिरासतमा छन्। अबुआमोविरुद्धको अर्को सुनुवाइ शुक्रवार हुनेछ।