बोलिभियामा महिला सिनेटरले आफैँलाई राष्ट्रपति घोषणा

बोलिभिया । दक्षिण अमेरिकी मुलुक बोलिभियाको सिनेटका उपप्रमुख जेनिन एनिसले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन्।
राष्ट्रपति मोरालेसले राजीनामा दिएर मेक्सिको गएपछि उनले आफूलाई सो पदमा नियुक्त गरेकी हुन्।

उनको नियुक्ति गर्न आयोजित कङ्ग्रेस बैठकलाई मोरालेस नेतृत्वको समाजवादी पार्टीले बहिष्कार गरेको थियो। अर्थात् उक्त बैठकमा कोरम पुगेको थिएन।

आनिएसले संविधान अनुसार आफू नै राष्ट्रपतिको लाइनमा रहेको बताएकी छन्।
तर हाल मेक्सिकोमा पुगेका पूर्व राष्ट्रपति मोरालेसले ट्वीट गर्दै आनिएसलाई कपटपूर्ण दक्षिणपन्थी कू को एक अङ्ग भएको आरोप लगाए।
एनिसले चाँडै निर्वाचन गराउने भनेकी छन्।

बोलिभियाका महान्यायाधिवक्ताका अनुसार गत महिना भएको विवादित राष्ट्रपतीय निर्वाचनपश्चात् भएका आन्दोलनका क्रममा ७ जनाको ज्यान गएको थियो।
पूर्वराष्ट्रपति मोरालेसले आइतवार राजीनामा गरेका हुन्।

उनले आफ्नो ज्यान जोखिममा रहेको भन्दै मेक्सिकोमा शरण मागेका थिए।

आफूलाई पद छाड्न दबाव दिइएको भन्दै उनले थप रक्तपात नहोस् भनेर आफू हटिदिएको बताएका छन्।

मङ्गलवार एनिसले सिनेटको अस्थायी नेतृत्व आफ्नो हातमा लिइन्। जसले उनी राष्ट्रपतिको लाइनमा पुगिन्।

उच्चपदस्थ नेताहरूको शृङ्खलाबद्ध राजीनामाका कारण उनले राष्ट्रपतिको पद सम्हालेकी हुन्।

उनलाई नियुक्त गर्न डाकिएको संसदीय बैठकलाई मोरालेसको समाजवादी दलले बहिष्कार गरेको थियो। सो दलले उनको नियुक्तिलाई अवैध भनेको छ।

ूराष्ट्रपति, उपराष्ट्रपति ‘ तथा चेम्बर अफ सिनेटर्सका अध्यक्षको अनुपस्थितिमा मैले, संवैधानिक व्यवस्था बमोजिम, राष्ट्रपतिको पद तत्काल सम्हालेको छु,ू आनिएसले घोषणा गर्दा उपस्थित सांसदहरूले ताली बजाएका थिए।

बोलिभियाको सर्वोच्च संवैधानिक अदालतले उनको नियुक्तिको समर्थन गरेको छ।