पाल्पामा १५ जना ‘स्मार्ट आमा’ सम्मानित, जनही १० हजार नगद पुरस्कार
तानसेन (पाल्पा), २३ असार । पाल्पाको रम्भा गाउँपालिकाले स्वास्थ्यका विभिन्न मापदण्ड पूरा गर्ने १५ जना आमाहरूलाई ‘स्मार्ट आमा’ का रूपमा सम्मानित गरेको छ । ‘स्वस्थ आमा, स्वस्थ बच्चा र समृद्ध समाज’ निर्माण गर्दै गाउँपालिकालाई पोषणमैत्री बनाउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको हो ।
सुनौलो हजार दिनका आमाहरूबीच गराइएको प्रतिस्पर्धामा २२ वटा स्वास्थ्य सूचकका आधारमा उत्कृष्ट अङ्क ल्याउने आमाहरूलाई ‘स्मार्ट’ घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । सम्मानित हुने आमाहरूलाई जनही १० हजार रुपैयाँ नगद, दोसल्ला र स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
यसरी छानिए ‘स्मार्ट आमा’
गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार कुल ११० पूर्णाङ्कको प्रतिस्पर्धामा २२ वटा विभिन्न स्वास्थ्य मापदण्ड तोकिएको थियो । जसमा स्वास्थ्य संस्थामा अनिवार्य प्रसूति भएको, कम्तीमा चार पटक गर्भ जाँच गरेको, आइरन र क्याल्सियम चक्कीको नियमित सेवन गरेको तथा बच्चालाई पूर्ण स्तनपान र खोप लगाएको हुनुपर्ने प्रावधान थियो ।
यस्तै, बच्चाको जन्मतौल २.५ केजीभन्दा माथि भएको, नियमित उचाइ र तौल नापजाँच गरिएको, व्यक्तिगत सरसफाइमा ध्यान दिएको, धुम्रपान र मद्यपान नगर्ने तथा बच्चाको समयमै जन्मदर्ता गरेको जस्ता सूचकहरूलाई आधार बनाइएको थियो । महिनावारी स्वच्छतासम्बन्धी ज्ञान र कम्तीमा दुई वर्षको गर्भान्तर कायम गर्ने आमाहरू मात्र यस सम्मानका लागि योग्य ठहरिएका हुन् ।
अध्यक्ष भण्डारीले भन्नुभयो, “हामीले पालिकालाई पोषणमैत्री घोषणा गर्ने लक्ष्य राखेका छौँ । सोही अभियानअन्तर्गत कार्यविधि नै बनाएर आमाहरूलाई स्वास्थ्यप्रति जिम्मेवार बनाउन यो कार्यक्रम ल्याइएको हो ।”
यस प्रतिस्पर्धामा गाउँपालिकाभरिका १३८ जना आमाहरू सहभागी भए पनि तोकिएका सबै सूचक पूरा गर्ने १५ जना मात्र ‘स्मार्ट’ आमाका रूपमा पुरस्कृत हुन सफल भएका हुन् । यस कार्यक्रमले स्थानीय स्तरमा मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने विश्वास गाउँपालिकाले लिएको छ ।