अमेरिका, मेक्सिको र क्यानडाले विस्थापित गरे २५ वर्ष पुरानो व्यापार सम्झौता
मेक्सिको सिटी । अमेरिका, मेक्सिको र क्यानडाले दुई वर्षको कठिन वार्तापश्चात् संशोधित यूएसएमसीए भनिने व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्।
यो सम्झौताले २५ वर्ष पुरानो नाफ्टा भनिने उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई विस्थापित गर्नेछ।
मेक्सिको सिटीमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै मेक्सिकोका राष्ट्रपति आन्द्रेज म्यानुएल लोपेज अब्राडोरले नयाँ सम्झौता तीनवटै देशका कामदारहरूका लागि उचित भएको र त्यसले आप्रवासनको समस्या हल गर्ने बताउनुभयो ।
नाफ्टाको साटो नयाँ व्यापार सम्झौताको विषय अमेरिकी राष्ट्रपति ट्रम्पको सन् २०१६ को निर्वाचनका बेला एउटा प्रमुख एजेन्डा थियो।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले तीन देशबीचको सहकार्य एउटा चमत्कार भएको बताउनुभयो ।
देशभित्रै पनि राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याटहरूसँग उक्त नयाँ सम्झौताका विशेषतः पर्यावरण र श्रमिकसम्बन्धी प्रावधानबारे सहमति गरेको समाचारमा जनाइएको छ ।