अमेरिकी सैनिक अखडामा क्षति भएको छैन : ट्रम्प

maitrinews

 

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा बुधबार इराकस्थित अमेरिकी अखडामा गरिएको आक्रमणमा कुनै क्षति नभएको बताएका छन् ।
उनको यो भनाइपछि इरानले गरेको आक्रमण अमेरिकालाई क्षति नगराउनेगरि थियो कि यो संयोग मात्रै हो भन्ने बारेमा अहिले चर्चा परिचर्चा भइरहेका छन् ।
यद्यपि अमेरिकालाई खासै ठूलो क्षति नदेखिएकोले उसले इरानमाथि प्रतिवाद गरिहाल्दैनकि भन्ने संकेत पाइएको छ । नत्र त्यसको प्रभाव नेपालसमेत समग्र विश्वले झनै भयानक रुपमा व्यहोर्नुपर्ने अवस्था रहेको थियो ।

तेलको खानी भएका कारण पनि त्यहाँ भड्किने युद्धले महंगीलगायतको असर संसारभर पार्ने निश्चित छ । नेपालसमेत विश्वलाई त्यसको असर पर्ने देखिन्छ ।

कैयौं नेपाली इरान, इराक र मध्येपूर्वमा रोजगारीका सिलसिलामा छन् । बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले सो आक्रमणबाट अमेरिकी वा इराकी कोही पनि सैनिक नमारिएको र कोही घाइते पनि नभएको जनाएका छन् ।

उनले सैन्य अखडामा सामान्य नोक्सान भएको जानकारी गराएका छन् । ट्रम्पले भनेका छन्,“यस्तो लागि रहेको छ कि इरान पछि हटिरहेको छ । यो विश्वकै लागि राम्रो कुरा हो ।”

उनले अमेरिकाले इरानमाथि अझ कडा नाकाबन्दी गर्ने जनाउँदै आफू अमेरिकाको राष्ट्रपति हुन्जेलसम्म इरान कहिले पनि परमाणु शक्ति सम्पन्न मुलुक हुन नसक्ने जनाएका छन् ।

उनले बेलायत, फ्रान्स, जर्मनी, रुस र चीनलाई सन् २०१५ मा इरानसँग भएको परमाणु सम्झौताबाट अलग हुन आग्रह समेत गरेका छन् ।

उनले करिब दश मिनेटको सम्बोधन गरेका थिए ।

बेलायती प्रधानमन्त्रीसँग वार्ता

ट्रम्पले बुधबार नै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग कुराकानी गरेका छन् । ह्वाइट हाउसका अनुसार दुवै नेताले मध्यपूर्वको अहिलेको अवस्थाका बारेमा मुल्यांकन गरेका थिए ।

दुवै देशबीच राष्ट्रिय सुरक्षाको हितमा ध्यान दिँदै मिलेर काम गर्ने बारेमा सहमति भएको छ । बेलायतका विदेशमन्त्रीले पनि अमेरिकी विदेशमन्त्रीसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।

ट्रम्पको सम्बोधनलाई अमेरिकी मिडियाले के भनेरु

ट्रम्पको सम्बोधनलाई अमेरिकी मिडियाले विभिन्न हिसाबले कभर गरेका छन् । जस्तो न्यूयोर्क टाइम्सले शीर्षक दिएको छ–‘इरानसँग थप सैन्य संघर्षबाट पछि हटे ट्रम्प ।’

वाशिङटन पोस्टको शीर्षक छ–‘ट्रम्पले भने इरानको मिसाइल हमलामा कुनै अमेरिकी नागरिक हताहत भएनन् ।’

वाल स्ट्रिट जर्नलको शीर्षक छ– ‘इरानको हमलापछि ट्रम्पले थप सैन्य हमलाको संकेत दिएनन् ।’

गालामा थप्पड :  खमेनी

उता इरानका सर्वोच्च नेता आयतोल्लाह अली खमेनीले अमेरिकी सैन्य अखडामा इरानको हमला अमेरिकाको गालामा थप्पड भएको जनाएका छन् । खामेनेईले मध्यपूर्वबाट अमेरिकी सेनालाई फिर्ता गर्नु जरुरी रहेकोसमेत बताएका छन् ।

एक हप्ताको उतारचढाव

इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी आक्रमणमा शुक्रबार मृत्यु भएको बदलामा इरानले बुधबार इराकस्थित अमेरिकी बेसमा मिसाइल प्रहार गरेको थियो ।

यो हमलामा कुनै अमेरिकी वा इराकी सैनिक मारिएका छैनन् । अब यसबारेमा बहस भइरहेको छ कि इरान जानीबुझी आफ्नो आक्रमणमा अमेरिकी सेना नपरुन भन्ने चाहन्थ्यो वा अरु नै केही हो रु अमेरिका र युरोपका सरकारी सूत्रले रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार उनीहरुलाई विश्वास छ कि इरानले जानीबुझी यस्तो गरेको हो । उनीहरुका अनुसार इरान समश्या नियन्त्रण भन्दा बाहिर जाओस् भन्ने चाहँदैन ।

सीएनएनका पत्रकार जेन टैपरले पेन्टागनको एक सूत्रलाई उद्धृत गर्दै इरानले बुधबारको आक्रमणमा जानी बुझी यस्तो टार्गेट छानेको जनाएका छन् । जसले गर्दा नै नोक्सानी नभएको उनले जनाएका छन् ।

बीबीसीका रक्षा संवाददाता जोनाथन मार्कसका अनुसार अझै पनि इरानले जानीबुझी यस्तो गरेको हो वा उसँग मिसाइल कम थियो त्यो भन्न सकिने अवस्था छैन ।

मार्कसका अनुसार सेटलाइट तस्बिरले अमेरिकी बेसमा केही भवनमा नोक्सान पुगेको छ । तर, यो सबै कुनै रणनीतिअनुसार पनि हुन सक्छ र कुनै संयोग मात्रै पनि हुन सक्छ ।