सुलेमानीको हत्यापछिको मध्यपूर्व

maitrinews

 

काठमाडौँ । कासिम सुलेमानीको शाब्दिक अर्थ हुन्छ, शान्ति बाँड्ने मानिस वा शान्तिदूत। अरबी भाषामा कासिम भनेको बाँड्ने र सुलेमानी भनेको शान्तिको प्रतिक मान्छे हो।
नामको अर्थ र मान्छेको व्यवहार कहाँ मिल्छ र ? सुलेमानीले जीवनका ४० वर्ष युद्धमै बिताए।
पछिल्ला २१ वर्ष त सुलेमानीले एलिट कद्स फोर्सको प्रमुख बनेर इरानी सीमाबाहिर देशको प्रभाव विस्तार गर्न युद्ध गराए।

ठ्याक्कै एक साताअघि यस्तै एउटा ‘मिसन’ मा हिँडेका उनी इराकको राजधानी बग्दादको विमानस्थलबाट बाहिर निस्कँदै थिए।

सुलेमानीलगायतको टोली गइरहेको गाडीको लस्करमा अचानक ड्रोन हमला भयो। उनी घटनास्थलमै मारिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको सुलेमानीको उक्त हत्याले ४० वर्षदेखि तिक्ततापूर्ण सम्बन्ध भएका अमेरिका र इरानलाई युद्धको संघारमा उभ्याइदियो।

सुलेमानी इरानको करमान प्रान्तको विकट हिमाली गाउँ रबोरमा जन्मेका हुन्। गरिब किसान परिवारमा जन्मिएका सुलेमानीले राम्रो शिक्षादिक्षा पाएनन्। तर सेनामा उनले यति प्रगति गरे कि सर्वोच्च नेता अयोतोल्लाह अलि खमेनीपछि उनी इरानकै दोस्रो शक्तिशाली व्यक्ति बने। यो उपलब्धीमा उनको युद्ध कौशल योगदान थियो।

पूर्वबडीबिल्डरसमेत रहेका सुलेमानीको ज्यान होचो कदको थियो तर उनी मध्पूर्वकै सबैभन्दा उचो कदका शक्तिशाली सैन्य कमाण्डर थिए।

लेबनानको हिजबुल्लाह, इराकका सिया मिलिसियालगायत अरू प्रतिनिधि सैन्य दस्ता चलाएर उनले इरानको हैसियतभन्दा बढी प्रभाव विस्तार गराए।

सुलेमानीको मृत्युले उनको कर्मजस्तै विध्वंश मच्चाउँछ कि नामजस्तै शान्ति बाँड्छ तरु

उनको हत्यापछिको साता दिनका घटनाक्रम हेर्दा धेरैले चिन्ता गरेजस्तो विध्वंश नभएर बरू तत्कालका लागि केही शान्ति ल्याउने संकेत देखिन्छ।

भनिन्छ( राष्ट्रपति ट्रम्पका कदमको पूर्वानुमान गर्न एकदमै कठिन हुन्छ। पहिला गहिरिएर नसोच्ने ट्रम्पले सनकका भरमा निर्णय लिने भएकाले अर्को कदम के हुन्छ भन्ने उनी स्वयंलाइ पनि थाहा हुन्न।

यद्यपी चीनसँगको व्यापार युद्धमा भने धेरैले उनका कदममा ुमेथड इन म्याडनेसु ९पागलपनजस्तो देखिने योजना० देखेका थिए। सुलेमानीको हत्या गर्ने उनको खतरनाक ‘पागलपन’मा भने कुनै ुमेथडु भेट्न गाह्रो छ।

इरान प्रकरणमा ट्रम्पका दुई परस्परविरोधी चरित्रको संगम देखिन्छ। अमेरिका बिनाकारण अरू देशमा अल्झिएको र विदेशी भूमिबाट सेना फिर्ता ल्याउँछु भन्दै ‘डिसइन्गेजमेन्टको’ मुद्दामा उनले सन् २०१६ को राष्ट्रपतीय चुनाव जिते। अहिले फेरि चुनाव हुने वर्ष भने उनले इरानसँग युद्ध नै छेड्न सक्ने निर्णय लिँदा धेरैलाई अचम्म लागेको छ।

केहीले आफूविरूद्धको महाअभियोगबाट ध्यान मोड्न ट्रम्पले यसो गरेको भन्छन्, कोही उनको यो कदममा युद्ध गरेर आउने निर्वाचन नै जित्ने योजना देख्छन्।

तर इरानले इराकस्थित अमेरिकाका दुई सैन्य अखडामा बुधबार क्षेप्यास्त्र आक्रमण गरेपछिको ट्रम्पले गरेको सम्बोधनले उनले युद्ध गर्न नभएर आफ्नो घाइते(इखका कारण सुलेमानीलाई मारेको भन्ने तर्कलाई बल दिन्छ।

बाराक ओबामा मुसलमान हुन् भन्ने मिथ्या आरोप लगाएर राजनीतिमा कदम राखेका ट्रम्पले ओबामाका हरेक काममा दोष देखाउँछन्। ओबामाले इरानको आणविक कार्यक्रम रोक्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका पाँच स्थायी सदस्य र जर्मनीसहित इरानसँग गरेको सम्झौताले ट्रम्पको ‘डिसइन्गेजमेन्ट’ को नीतिलाई नै सहयोग गर्ने भए पनि ट्रम्पले त्यसको विरोध गरे।

२०१६मा राष्ट्रपति चुनिएपछि अरू सबै हस्ताक्षरकर्ता र अन्तर्राष्ट्रिय आणविक निरीक्षकले इरानले सम्झौताका सर्त पूर्ण पालन गरेको बताइरहँदा पनि ट्रम्पले उक्त सम्झौता एकतर्फी रूपमा तोडे।

सम्झौता ट्रम्पले दाबी गरेजस्तो इतिहासकै खराब थिएन। सम्झौताका अरू पक्ष राष्ट्रले अहिले पनि युद्ध नगरी इरानलाई आणविक हतियार बनाउन रोक्न त्यो नै सबैभन्दा राम्रो उपाय मान्छन्।

आणविक कार्यक्रम रोकेबापत् इरानले अमेरिकाले लगाएको प्रतिबन्धमा राहत पाएको थियो। एकातिर रोकिएको दसौं अर्ब डलर आयो भने अर्कातिर तेल बेच्न पनि बाटो खुल्यो।

इरानले त्यो पैसा सुलेमानीको नेतृत्वमा हिज्बुल्लाह र अरू प्रतिनिधि संगठनमार्फत् आफ्नो प्रभाव विस्तार गर्न खर्च गर्‍यो।

सिरियामा बसर अल असद सत्ताच्यूत भए इरानमा पनि सत्तापलट हुने खतरा देखेर असदलाई काँध हाल्न युद्धको फ्रन्टलाइनमै सुलेमानी तैनाथ भए। असदले आफ्ना नागरिकविरूद्ध रसायनिक हतियार प्रयोग गरेर ओबामाले कोरेको ‘रातोरेखा’ पार गर्दा पनि अमेरिकाले केही नगरेपछि इरान हौसियो।

डिसइन्गेजमेन्टको नीतिसहित ट्रम्प राष्ट्रपति भएपछि इरान झन् उत्साही भएर प्रभाव विस्तारमा लाग्यो। आणविक सम्झौतापछि आएको पैसाले त्यसलाई थप मलजल गर्‍यो।

आफूले सबै सर्त पालना गर्दा पनि ट्रम्पले अचानक सम्झौता तोडेपछि भने इरान चिढियो। आर्थिक समस्या थपिएपछि उसले अमेरिकासँग निहुँ खोज्न थाल्यो।

सुरूमा ‘स्ट्रेट अफ होर्मुज’ बाट जाने तेल ट्यांकरमा आक्रमण गर्‍यो। ट्वीटरबाट शासन गर्ने भनेर चिनिएका ट्रम्पले त्यसको कडा विरोध गरे पनि केही कारबाही नगरेपछि इरानले आफूलाई थप बलियो महसुस गर्न थाल्यो।

गत जुनमा उसले अमेरिकी ड्रोन खसाल्यो। जवाफमा हवाई कारबाही गर्ने निर्णय गरे पनि अन्तिम समयमा लडाकु विमान फिर्ता बोलाएको खुलेपछि ट्रम्प कमजोर भएको र निर्णय गर्न हच्किने इरानले ठान्यो।

हौसिएर उसले साउदी अरबको प्रमुख तेलप्रशोधन केन्द्रमै आक्रमण गर्‍यो, केही दिनका लागि विश्वको तेल आपूर्ति नै प्रभावित भयो।

आत्मकेन्द्रित ट्रम्प जहिल्यै पनि आफूलाई बहादुर मर्दको रूपमा हेर्छन्, अरूलाई देखाउन खोज्छन्। इरानले आफूलाई हेपेको देखिएपछि उनी तिलमिलाए।

डिसेम्बर २७ मा किर्कुकनजिकैको अमेरिकी सैनिक पनि रहेको इराकी सैन्य अखडामा रकेट आक्रमण भयो। घटनामा एक जना अमेरिकी ठेकेदारको मारिए। त्यसपछि भने अमेरिकाले इरानी समर्थनमा चलेको कतैब हिज्बुल्लाह समूहले प्रयोग गर्ने पाँच शिविरमा आक्रमण गरेर २५ जनालाई मारिदियो।

जवाफमा कतैब हिज्बुल्लाहले सुलेमानीको निर्देशनमा इराकस्थित अमेरिकी राजदूतावासमा आक्रमण गर्‍यो। ४० वर्षअघि इस्लामिक क्रान्तिताका इरानस्थित अमेरिकी राजदूतावासमा गरिएको आक्रमण र बन्दी समस्या र सन् २०१२ मा लिवियाको बेन्घाजीमा रहेको विशेष अमेरिकी नियोग आक्रमणको पुनरावृत्ति गर्ने खालको घटना भयो।

इरानी आशिर्वादमा इराकका प्रधानमन्त्री भएका सियामूलका अदिल अब्दुल मेहेदीले आफ्नो सरकारका पालामा इराकी भूमिमा त्यसो नगर्न अनुरोध गरेपछि मात्रै सिया मिलिसिया पछि हटे।

अघिल्लो चुनावी अभियानमा ट्रम्पले बेन्घाजी आक्रमणका बेला विदेश मन्त्री रहेकी हिलारी क्लिन्टनले अमेरिकी राजदूतको ज्यान जोगाउन नसकेको आरोप लगाएका थिए। यसपालि बग्दादको राजदूतावासमै आक्रमण भएपछि ट्रम्पका लागि यो इज्जतकै सवाल बन्यो।

यी सब घटना सुलेमानीले नै गराएको छर्लंगै थियो।

दैनिक अमेरिकी सैनिक मरिरहेको बेलासमेत पूर्वराष्ट्रपति जर्ज डब्लु बुस र ओबामाले कहिल्यै पनि सुलेमानीलाई मार्ने विकल्प बारे सोचेनन्।

अमेरिकीको ज्यान लिएका कारण उनी मारिनयोग्य भन्ने सम्मति रहे पनि उनलाई मारेपछि इरानले लिने कदम ज्यादै खतरनाक हुने उनीहरूले ठहराए।

इराकमा भएको दूतावासमा आक्रमणपछि बसेको बैठकमा भिडिओ कन्फ्रेन्सिङमा रहेकी सिआइए प्रमुख जिना हेस्पेलले जिउँदो सुलेमानी उनको हत्या गर्दा इरानले गर्ने जवाफी कारबाहीभन्दा बढी खतरनाक भएको राय दिएको बताइन्छ। त्यस्तो राय दिए पनि उनीलगायत कसैले पनि सुलेमानीलाई मार्नु पर्छ भन्ने मत नराखेको बताइन्छ।

हेपिएको महशुस गरेका ट्रम्पले अन्ततस् आफूलाई बहादुर र खतरा मोल्न सक्ने देखाउन इरानका दोश्रा शक्तिशाली व्यक्तिको हत्या गर्न आदेश दिए।

सुरक्षा अधिकारीहरूले प्रस्तुत गरेका जवाफी कारबाहीका विकल्पमध्ये सुलेमानीलाई मार्ने विकल्प रोजेर ट्रम्पले सबैलाई चकित पारे। विदेश मन्त्री माइक पम्पेओबाहेक कुनै पनि उच्च अधिकारी सुलेमानी हत्याको पक्षमा नरहेको आँकलन गरिन्छ।

अमेरिकाले आफूलाई मार्ला भन्ने रत्तिभर पनि डर नभएका र सिरिया, लेबनान र विशेष गरी इराकलाई आफ्नो विर्तासरह बनाएका सुलेमानी आखिरमा अमेरिकी ड्रोन आक्रमणमा मारिए। अमेरिकी ठेकेदार मार्ने र दूतावास आक्रमण गर्ने कतैब हिज्बुल्लाह मिलिसिया समूहका प्रमूख अबु महदी अल मुहादिस पनि सुलेमानीसँगै अमेरिकी निशानामा परे।

शुक्रबार भएको उक्त घटनाले संसारभर तरंग ल्यायो। अमेरिका(इरान युद्ध हुने सन्त्रास छायो। विश्वभरका शेयर बजारमा गिरावट आयो भने तेल र सुनको भाउ बढ्यो।

केही महिनाअघि इरानमा तेलको भाउ बढेपछि भएको आन्दोलन भएको थियो। करिब १५०० नागरिक मारेर उक्त आन्दोलन दबाउन प्रमुख भूमिका खेले पनि सुलेमानी इरानमा लोकप्रिय थिए। सच्चा राष्ट्रवादीको छवि थियो र अमेरिकालाई तह लगाएको र इरानी प्रभाव विस्तार गरेको भनेर उनको प्रशंसा हुन्थ्यो। सर्वोच्च नेता अयोतोल्लाह अलि खमेनीका धेरै नजिक रहेका सुलेमानीलाई खमेनीले त जिउँदो शहिद नै भन्थे।

त्यति शक्तिशाली र लोकप्रिय सैन्य कमाण्डरको हत्या गरिदिएपछि सार्वजनिक खपतका लागि पनि इरानले जवाफ दिनैपर्थ्यो। आफ्नो प्रिय जनरल मारिँदा भावविह्वल भएका खमेनीले प्रतिनिधि मिलिसिया लगाएर होइन देखिने गरी इरानी सेनाले नै आक्रमण गर्न आदेश दिए।

त्यसैअनुसार इरानले बुधबार अमेरिकी सैन्य शिविरमा आक्रमण गर्‍यो।

‘८० अमेरिकी आतंककारी’ मारिएको इरानले दाबी गरे पनि आक्रमणमा कोही पनि नमारिएको बताइन्छ।

सुलेमानी हत्यापछि हच्किएको इरानले अमेरिकी सेना मरे उसले झन् ठूलो आक्रमण गर्ला भनेर इराकलाई पूर्वसूचना दिएको र इराकले अमेरिकीलाई सावधान गराएको बताइन्छ।

आक्रमणपछि इरानले आफ्नो बदला पूरा भएको र अमेरिकाले जवाफमा केही गरे भरपूर जवाफ दिने भन्दै द्वन्द्व चर्काउन नचाहेको स्पष्ट सन्देश दिएको छ।

इराकमा आक्रमण भएपछि भोलि बिहान सम्बोधन गर्छु भनी सुतेका ट्रम्पले बुधबार बिहानको सम्बोधनमा इरान पछि हटेको भन्दै थप सैन्य कारबाही नगर्ने बताए। बरू आर्थिक नाकाबन्दी थप कसिलो बनाउने घोषणा गरे।

ट्रम्पको सम्बोधनपछि संसारले राहतको सास फेर्‍यो। सेयर बजार उकालो लागे भने, तेल र सुनको भाउमा गिरावट आयो।

बिहीबार त संयुक्त राष्ट्रसंघमा अमेरिकाले इरानसँग गम्भीर वार्ता गर्न तयार रहेको बतायो।

सनकका भरमा निर्णय गरेर आफ्ना मित्र राष्ट्रहरूलाई हैरान बनाएका ट्रम्पको सुलेमानी मार्ने सनकी निर्णयले भने उल्टो तनाव कम गर्ने काम गर्‍यो।

यतिन्जेल ट्रम्पले केही गर्दैनन् भनेर अड्कल लगाएर निर्धक्क बसेको इरान सुलेमानी मारिएपछि भने उनको अप्रत्याशित निर्णय लिने बानीबाट झस्कियो। इरान आक्रामक भए के गर्ने त भनेर विस्तृत योजनासमेत नबनाई सुलेमानी मार्ने आदेश दिएर बसेका ट्रम्प आफैं पनि यतिका दिन ‘नर्भस’ थिए भनिन्छ।

पछिल्लो समय मध्यपूर्वमा मनलाग्दी गर्दा पनि अमेरिकाले केही नगरेपछि हौसिएको इरान सुलेमानीलाई मार्नसमेत नहच्किएको सनकी मान्छेले जे पनि गर्न सक्छ भनेर यस पटक ट्रम्पसँग डरायो। ट्रम्पको ुपागलपनलेु ुडिटरेन्सुको काम गर्‍यो।

खुला युद्धमा उत्रिए अमेरिकासँग हारिन्छ भन्ने इरानलाई राम्रोसँग थाहा छ। त्यही भएर त उसले अमेरिकाविरूद्ध हिजबुल्लाह र अरू प्रतिनिधि मिलिसिया लगाउँछ। आणविक हतियार बनाए अमेरिका पनि आफूसँग हच्किनु पर्छ भनेर नै उसले आणविक कार्यक्रम सुरू गरेको हो।

एकजना ठेकेदार मार्दा २५ जना सिया मिलिसिया मारेको र दूतावासमा आक्रमण गर्दा सुलेमानीलाई नै सिध्याएकाले, अरू अमेरिकी मारे झन् आक्रामक हुन्छ भनेर कोही नमर्ने गरी इरानले बुधबारको मिसाइल हमला गरेको बताइन्छ।

इरानले आफूले चलाएका मिलिसियालाई समेत स्पष्ट शब्दमा अमेरिकीलाई नोक्सान हुने गरी तत्काल कुनै पनि आक्रमण नगर्न निर्देशन दिएको आमेरिकी सुरक्षा अधिकारीको दाबी छ।

अमेरिकी दाबी मान्ने हो भने उनले थप हिंसात्मक आक्रमणका योजना बनाइरहेका थिए।

सुलेमानीको शवयात्रामा भागदौड मच्चिएर ५६ जना इरानीको मृत्यु भए पनि उनको हत्या भएको सात दिनमा अन्य कुनै हिंसामा मान्छे मारिएका छैनन्।

बुधबार भएको युक्रेनी जहाज दुर्घटना इरानी क्षेप्यास्त्रले भएको पश्चिमाले दाबी गरे पनि त्यो पुष्टि भएको छैन।