अमेरिकामा स्रष्टा सिर्जना कार्यक्रम सम्पन्न —न्युयोर्कबाट न्हुच्छेनारायण डंगोल

 

न्युयोर्क । ‘न्युयोर्कमा स्रष्टा’ शीर्षकमा स्रष्टाहरुको सिर्जना सुन्ने कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक तीन,तीन महिनामा चार,चार जना स्रष्टाका सिर्जना सुन्ने कार्यक्रमअन्तर्गत यस पटक फेबु्रअरी २ तारिखमा ज्याक्सन हाइटस्थित नेपाली भान्सा घरको हलमा सो कार्यक्रम आयोजना गरिएको हो ।
अनेसास च्याप्टरका उपाध्यक्ष साहित्यकार शान्ता अधिकारी घिमिरेले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । कवि किसन सिंह धामीले आफ्नो जीवनीको परिचय दिँदै पहिलो कविता वाचन गर्नुभएको थियो । त्यसैगरी दोस्रो कविता न्युयोर्कका पुराना चर्चित कानुन व्यवसायी एवं कवि विनोद रोकाले कविता र गीत सुनाउनुभएको थियो ।
त्यसैगरी तेस्रो कविता कवि मधु माधुर्यले सुनाउनुभएको थियो । चौथो तथा अन्तिम कविता कवयित्री पद्य लिखाले सुनाउनुभएको थियो ।
कार्यक्रममा अनेसासका पूर्वअध्यक्ष तथा साहित्यकार राजेन्द्र श्रेष्ठलाई उहाँले गरेको योगदान स्वरुप च्याप्टरका अध्यक्ष शकुन ज्ञवाली तथा कोषाध्यक्ष विकास विष्टले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । त्यसैगरी कविता वाचन गर्ने चारैजना कवि तथा कवयित्रीलाई पनि सम्मा गरिएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टी कवयित्री गीता खत्रीको कथा सङ्ग्रह ‘अन्त्यहीन इच्छा’ को अङ्ग्रेजी अनुवाद गरिएको पुस्तक ‘सिमलेस डिजायर’को लोकार्पण गरिएको थियो ।

कार्यक्रममा अङ्ग्रेजी पुस्तकका युवा लेखक तथा कवि राजन थपलियाले कार्यक्रमबारे आफ्नो मन्तव्य राख्दै यो एकदमै सराहनीय काम भएको बताउनुभयो । उहाँले गीता खत्रीको पुस्तकको समीक्षा गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा अन्तर्राष्ट्रिय साहित्य समाज न्युयोर्क च्याप्टरका अध्यक्ष साहित्यकार शकुन ज्ञवालीले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अनेसासका महासचिव एव साहित्यकार राजन महर्जनले गर्नुभएको थियो । नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट कार्यक्रम सुरु गरिएको थियो ।
कार्यक्रममा सहभागी कविहरु तथा संस्थाका पुरुष पदाधिकारीहरु दौरा सुरुवाल र महिलाहरु साडीमा सजिएका थिए । कार्यक्रम निकै रमाइलो भएको सहभागीहरुले बताए ।