कोरोनाभाइरस नियन्त्रण गर्न नाटकघरदेखि विद्यालयसम्म बन्द
अमेरिका । न्यूयोर्कमा नाटकघरहरू बन्द भएका छन् ।
विश्वभरि विभिन्न देशमा कोरोनाभाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने प्रयासमा विद्यालयहरू बन्द गरिएका छन्, खेलकुदका पूर्वनिर्धारित प्रतियोगिताहरू स्थगित भएका छन् तथा सांस्कृतिक संस्थाहरू बन्द भएका छन्।
अमेरिकामा सबै प्रमुख खेल प्रतियोगताहरू स्थगित गरिएका छन् र ब्रोडवेले आफ्ना सबै मनोरञ्जनात्मक कार्यक्रम एक महिनाका लागि निलम्बन गरेको छ।
युरोपमा फ्रान्सले सबै विद्यालय, विश्वविद्यालय र शिशुकक्षा बन्द गरेको छ।
राष्ट्रपति इमानुएल म्याक्रोनले कोरोनाभाइरस प्रकोपलाई फ्रान्सका लागि एक शताब्दीयताकै सबैभन्दा गम्भीर स्वास्थ्य सङ्कटको सङ्ज्ञा दिएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारी घोषणा गरेको यो भाइरसको सङ्क्रमण अहिले ११८ वटा देशमा भेटिएको पुष्टि भएको छ। कोभिड(१९ बाट झन्डै एक लाख २५ हजार मानिस प्रत्यक्ष प्रभावित भएको पुष्टि भएको छ भने ४,६०० जनाभन्दा बढीले ज्यान गुमाएका छन्।