कोरोनाभाइरस महामारी फैलिने त्रासमा ताजमहल पनि बन्द

 

नयाँदिल्ली । कोरोनाभाइरस सङ्क्रमणको महामारी फैलिने आशङ्कामा सावधानीस्वरूप भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहल बन्द गरिएको अधिकारीहरूले बताएका छन्।

भारतको उत्तर प्रदेश राज्यस्थित उक्त प्रसिद्ध स्मारक अहिले बन्द गर्नुपर्ने अवस्था भएको संस्कृति मन्त्रायलले जनाएको छ। प्रत्येक दिन ताजमहलमा सरदर ७०,००० पर्यटक जाने गरेको बताइन्छ।

सरकारले शैक्षिक संस्था, शपिङ मल, रेस्टुराँ, मदिरालय, व्यायामशाला तथा धार्मिक स्थल जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएपछि भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको छ।

भारतमा अहिलेसम्म केही विदेशीसहित ११४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

त्यहाँ झन्डै ६,००० जनाको परीक्षण गरिएको छ।