कोरोनाबाट ७४ हजार ६७८ जनाको मृत्यु

 

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको सख्या ७४ हजार ६ सय ७८ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार १३ लाख ४६ हजार दुई सय ९९ जना यो भाइरसबाट संक्रमित भएका छन् भने दुई लाख ५३ हजार सात सय जना निको भएका छन् ।

आइतबार मृतकको संख्या घटेर केही आशा जागेको इटलीमा सोमबार फेरि मृत्यु हुनेको संख्या एक सय जनाले बढेको छ । सोमबार इटलीमा छ सय ३६ जनाको मृत्यु भएको छ, जबकी आइतबार पाँच सय २५ जनाको मृत्यु भएको थियो । इटलीमा मृत्यु हुनेको कुल संख्या १६ हजार पाँच सय २३ पुगेको छ ।

यहाँ संक्रमितको संख्या एक लाख ३२ हजार पाँच सय ४७ पुगेको छ, सोमबार एकै दिन तीन हजार पाँच सय ९९ जनामा संक्रमण देखिएको छ ।

स्पेनमा मृतकको संख्या १३ हजार तीन सय ४१ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३६ हजार छ सय ७५ पुगेको छ ।

संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ । यहाँको न्युयोर्क शहरमा मात्र चार हजार सात सय ५८ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या तीन लाख ६७ हजार पाँच सय सात पुगेको छ । न्युयोर्कमा मात्र संक्रमितको संख्या १ लाख ३१ हजार आठ सय १५ पुगेको छ । न्युयोर्कपछि बढी प्रभावित हुने राज्यमा न्युजर्सी रहेको छ ।

पछिल्लो केही दिनयता कोभिड १९ संक्रमणको कारण फ्रान्समा भयावह अवस्था देखिएको छ । सोमबार एकै दिन फ्रान्समा आठ सय ३३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण देखिएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो ।

फ्रान्समा मृत्यु हुनेको संख्या अब आठ हजार नौ सय ११ पुगेको छ । इटली र स्पेनपछि युरोपमा कोभिड १९ को असर फ्रान्समा देखिएको छ ।

बेलायतमा मृत्यु हुनेको संख्या पाँच हजार तीन सय ७३ र संक्रमितको संख्या ५२ हजार दुई सय ७९ पुगेको छ ।

जर्मनीमा संक्रमित संख्या एक लाख तीन हजार तीन सय ७४ र मृतक संख्या एक हजार आठ सय १० पुगेको छ । इरानमा मृतक संख्या तीन हजार सात सय ३९ पुगेको छ ।