कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी, २० हजारभन्दा बढीको मृत्यु, ५ लाख २६ हजार संक्रमित

 

वासिङ्टन । कोरोना भाइरस संक्रमणबाट अमेरिकामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ५०६ पुगेको छ ।

त्यस्तै अमेरिकामा करिब ५ लाख २७ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये ३१ हजार ४ सय २४ जना निको भएका छन्।

अमेरिकापछि सबैभन्दा बढी इटालीमा १९ हजार ४६८ को मृत्यु भएको छ। इटालीमा संक्रमितको संख्या एक लाख ५२ हजार २७१ रहेको छ भने करिब ३२ हजार निको भएका छन्। त्यस्तै अर्को युरोपेली मुलुक स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ६०६ रहेको छ। त्यस्तै स्पेनमा संक्रमितको संख्या करिब एक लाख ६३ हजार रहेको छ। स्पेनमा कोरोना संक्रमणपछि निको हुनेको संख्या करिब ५९ हजार रहेको छ।

फ्रान्समा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ। आइतबार बिहानसम्म फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ८ सय ५१ पुगेको छ। फ्रान्समा संक्रमितको संख्या एक लाख ३० हजार रहेको छ भने करिब २६ हजार निको भएका छन्।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट इरानमा ४ हजार ३ सय ५७, बेल्जियममा ३ हजार ३ सय ४६, चीनमा ३ हजार ३ सय ४३, जर्मनीमा २ हजार ७ सय ३६, नेदरल्यान्ड्समा २ हजार ६ सय ५३, टर्कीमा एक हजार एक सय एक, ब्राजिलमा एक हजार एक सय २४ र स्विजरल्यान्डमा एक हजार ३६ जनाको मृत्यु भएको छ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले पुरै विश्वलाई आक्रान्त बनाएको छ। यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ८ हजार ५ सय ३ पुगेको छ। त्यस्तै करिब १७ लाख ७१ हजार संक्रमित हुँदा करिब ४ लाख निको भएका छन्।

यसैबीच विश्व स्वास्थ्य संगठन९डब्लूएचओ० ले लकडाउन हटाए वा खुकुलो पारेमा घातक हुने चेतावनी दिएको छ। संक्रमण अझै पनि नियन्त्रणउन्मुख नभएकाले लकडाउन, सामाजिक दूरी र व्यक्तिगत दूरी कायम गर्नुपर्ने डब्लूएचओले बताएको छ।