कोरोनाका कारण मानिस घरभित्र, सिंह सडकमा

maitrinews

 

दक्षिण अफ्रिका । कोरोना महामारीका कारण यतिबेला विश्व नै ठप्प अर्थात् लकडाउनमा छ। कोरोना भाइरसको संक्रमणबाट बच्न मानिस घरभित्रै सीमित भएका छन्।

यही मौका छोप्दै पहिले जंगलमा लुकेर बस्ने जीव जनावर भने बाहिर निस्किन थालेका छन्। निर्धक्क विचरण गर्न थालेका छन्।

एउटा यस्तै रोचक दृश्य देखिएको छ( दक्षिण अफ्रिकामा। लकडाउनका कारण मानिसको आवतजावत ठप्प भएपछि अफ्रिकास्थित क्रुगर राष्ट्रिय निकुञ्जका सिंह यतिबेला पिच सडकमै सुत्न थालेका छन्।

निकुञ्जका रेन्जर रिचर्ड सावरीले गस्ती गर्ने क्रममा सामान्य अवस्थामा पर्यटकले भरिभराउ हुने सडकमा सिंह शानका साथ सुतिरहेको देखेका हुन्।

उनले त्यही मौकामा केही तस्बिर लिएर सार्वजनिक गरेका छन्। मात्रै ५ मिटरको दूरीमा बसेर फोटो खिच्दा पनि सिंहले कुनै वास्ता नगरेको उनले बताएका छन्। उनले ती तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
दक्षिण अफ्रिकामा कोरोनाका कारण अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ५ सक्रमित भएका छन्।