अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौ कर्मचारीलाई कोरोना

maitrinews

 

काबुल । अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कार्यरत दर्जनौ कर्मचारीलाई कोरोना संक्रमण पोजेटिभ भएको खबर बाहिर आएको छ । कार्यालयका कर्मचारीमा सुरुमा २० जनामा संक्रमण देखिएको भएपनि अहिले ४० जनामा संक्रमण पुष्टि भएको न्युयोर्क टाइम्स र बीबीसीले जनाएका छन् । यसबारेमा अफगानिस्तानले भने कुनै प्रतिक्रिया दिएको छैन र राष्ट्रपति असरफ घानीको स्वास्थ्यअवस्थाका बारेमा पनि केही बताइएको छैन । तर आइतबार राष्ट्रपति अशरफ घानीले भिडियो कन्फ्रेरेन्समार्फत बैठक गरेका छन् ।

अर्का एक बरिष्ठ अधिकारीका अनुसार एकहप्ता भन्दा पहिलेदेखि नै राष्ट्रपति कार्यालयका कर्मचारीहरुले कोरोना परीक्षण गराउँदै आएका थिए । तीमध्ये दर्जनौलाई कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुलाई क्वारेन्टाइनमा पठाइएको समेत ती अधिकारीले बताए । तर उनले विस्तृत विवरण भने दिन चाहेनन् ।

७० वर्षीय घानीको सन् १९९० मा पेटको क्यान्सरको अप्रेशन गरिएको थियो । उनी अहिले क्वारेन्टाइनमै रहेको बताइएको छ । ‘राष्ट्रपति कार्यालयभित्र २० जनाभन्दा बढी मानिस कोरोना संक्रमति छन्, तर बाहिर कुनै त्रास नभएको जस्ता देखिन्छ र यो घटनालाई गोप्य राखिएको छ’ एक सरकारी अधिकारीले भने । अफगानिस्तास्तानमा मार्चको पहिलो हप्ता कोरोना संक्रमणको पहिलो केश देखिएको थियो । त्यसपछि पनि राष्ट्रपति कार्यालयमा धेरै पछिसम्म पाहुनाहरुको भीड बढेको जनाइएको छ ।

शनिबारसम्म अफगानिस्तानमा संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने ९३३ जना संक्रमित भएको तथ्याङ्क सार्वजनिक भएको छ । अफगानिस्तान दशकौंदेखि द्वन्द्वमा फसेको मुलुक हो । त्यहाँ इरान र पाकिस्तानबाट फर्किने हज्जारौं सर्वसाधारणबाट कोरोना संक्रमण फैलिने आशंका व्याप्त छ ।