विश्व स्वास्थ्य संगठनले दियो गम्भीर चेतावनी, विश्वमा अझै खराब स्थिति आउने

 

जेनेभा। अमेरिका र चीनबीच कोरोना भाइरसको उत्पति र विश्व स्वास्थ्य संगठनको भूमिकाका विषयमा आरोप प्रत्यारोप चलिरहेका बेला विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका बारेमा गम्भीर चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा।टेड्रोस ग्रीब्रियासले कोरोनाकै कारण विश्वमा अझै खराबभन्दा खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन् ।

उनले भने, ‘केभिड–१९ का कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी छ, त्यसेबला विश्वले महामारीको नराम्रो रुप देख्नेछ ।’ उनले विश्वमा २ देखि ३ प्रतिशत जनसंख्यामा मात्र यो भाइरसविरुद्द लड्ने प्रतिरोध क्षमता भएको दाबी गर्दै भाइरस विरुद्दको खोप नबनेसम्म अवस्था निरन्तर बिग्रँदै जाने चेतावनी दिए ।

जेनेभामा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा महानिर्देशक गिब्रियासले विश्वका सबै देशहरुलाई लकडाउन हटाउने निर्णयमा हतार नगर्न समेत अपिल गरे । उनले भने, ‘यो अवस्था एकदमै खतरनाक अवस्था हो र अहिलेको अवस्था सन् १९१८ मा देखिएको फ्लुको महामारी जस्तै हो, जुन फ्लुले विश्वमा ५ करोडभन्दा बढी मानिसको ज्यान लिएको थियो । तर अहिले भने हामीसँग प्रविधि छ र यसको सहयोग लिएर हामी विपत्तिबाट बच्न सक्छौ ।’ उनले थप भने, ‘हामीलाई विश्वास गर्नुहोस्, यस प्रकोपलाई रोक्न सबै अघि बढौं, किनकि यो यस्तो भाइरस हो, जुन मानिसहरुले अझै बुझिसकेका छैनन् । हामीले सुरुदेखि नै चेतावनी दिँदै आएका छौ कि यस्तो सैतानका विरुद्द हामी सबै मिलेर लडनुपर्छ ।’

अमेरिकासँग बिग्रिँदै गएको सम्बन्धका बारेमा उनले विश्व स्वास्थ्य संगठनसँग कुनै गोप्य कुरा नभएको र कोरोना भाइरसको सम्बन्धमा केही कुरा नलुकाइएको स्पष्ट पारे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि विश्व स्वास्थ्य संगठन चीनप्रति लचिलो भएको आरोप लगाउँदै उपलव्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गर्ने निर्णय गरेका थिए ।

डा।टेड्रोस माइक्रोबायोलोजिष्ट पनि हुन् । उनी विश्व स्वास्थ्य संगठनको नेतृत्वमा आउनुअघि इथियोपियाका स्वास्थ्यमन्त्री थिए । उनलाई चीनको प्रयासमा विश्व स्वास्थ्य संगठनको नेतृत्वमा पुर्याएको आरोप अमेरिका लगायतका मुलुकहरुले लगाउँदै आएका छन् ।