फ्रान्सको गुफामा आदिमानव बसेको ५० हजार वर्ष पुरानो डोरी फेला

maitrinews

 

फ्रान्स । फ्रान्सको एउटा गुफामा भेटिएको एउटा पुरानो डोरीको टुक्राले आदिमानव नीयान्डर्टालको सङ्ज्ञानात्मक क्षमता आधुनिक मानवजातिको भन्दा कम थियो भन्ने मान्यतालाई चुनौती दिने देखिएको छ।

उक्त डोरी ५०,००० वर्ष पुरानो हो र अहिलेसम्म भेटिएकोमध्ये सबैभन्दा प्राचीन हो।

वैज्ञानिक जर्नल ुसाईअन्टिफिक रिपोर्ट्समा प्रकाशित एउटा अध्ययनका अनुसार अब्रि डि मारस क्षेत्रको गुफामा ढुङ्गाबाट बनेको एउटा औजारमा रूखको बोक्राबाट बनेको उक्त डोरीको टुक्रा फेला परेको थियो र उक्त डोरी तीनसूते थियो।
यसको अर्थ के हो भने नीयान्डर्टाल मानवलाई जोडी र सङ्ख्याको ज्ञान थियो।
बुनिएका रेसा कपडा, झोला, जाली र डुङ्गा बनाउने आधार हुन्।

नीयान्डर्टाल मानव झन्डै ४०,००० वर्षअघि लोप भएका थिए। उनीहरूले भोजपत्रको बोक्राबाट मोसो, चित्रकला र सिपीको माला बनाउने गरेका थिए।

उनीहरू आगो पार्न र निभाउन सक्थे तथा सुरक्षित रूपमा आवास गर्थे। उनीहरूसँग ठूला वन्यजीवको सिकार गर्ने सीप थियो र उनीहरू आफन्तको शवलाई गाड्थे।

पुरातत्त्वविद् र पुरामानवशास्त्रीले अब्रि डि मारसजस्ता स्थानमा अन्य जीवका अवशेष वा ढुङ्गे औजार मात्र फेला पारेका छन्। कुहिएर नष्ट हुने सामग्री प्रायः भेटिएको छैन।