इटलीमा लकडाउन खुकुलो, ४० लाख मानिस काममा फर्किए

maitrinews

 

रोम । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित युरोपेली देश इटालीले करिब दुई महिनाभन्दा लामो देशव्यापी लकडाउन खुकुलो पारेको छ ।

कोभिड–१९ को संक्रमण फैलिएपछि फेब्रुअरी तेस्रो साता इटालीले लोडी प्रान्तका ११ नगरपालिकामा लकडाउन गरेको थियो । तर संक्रमण थप विस्तार भएपछि मार्च ९ देखि देशव्यापी लकडाउन गरिएको थियो । लकडाउन खुकुलो गरिएसँगै उद्योग तथा निर्माण क्षेत्रहरूमा काम सुचारु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उद्योग तथा निर्माण क्षेत्रका करिब ४० लाख मानिस काममा फर्किएका छन् । तीमध्ये ७२ प्रतिशत पुरुष छन् ।

लकडाउन खुकुलो भए पनि मानिसहरूमा भने संक्रमणको त्रास कायमै रहेको छ । ‘हाम्रा मनमा खुसी र डरको मिश्रण छ,’ राजधानी रोमका ४० वर्षीय स्टेफानो मिलानोले भने । उनले खुला रूपमा हिँड्न तथा काममा फर्कन पाउँदा खुसी लागे पनि परिवारको चिन्ता लागेको बताए ।

त्यसैगरी, मानिसहरूलाई आफ्नो क्षेत्रमा सीमित रहेर आवतजावत गर्न, पार्कमा डुल्न तथा मास्क लगाएर आफन्तहरूसँग भेटघाट गर्न दिइएको छ । १५ जनाभन्दा कम मानिसको उपस्थितिमा अन्तिम दाहसंस्कार गर्न पाइने जनाइएको छ ।

बार तथा रेस्टुराँहरूले घर तथा कार्यालयका लागि ‘टेक अवे’ ९खानेकुरा लैजाने० सेवा दिन सुरु गरेका छन् । खेलाडीहरूलाई व्यक्तिगत रूपमा तालिम लिन अनुमति दिइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार समूहगत तालिम भने दुई सातापछि मात्र लिन पाइनेछ ।

इटालीका प्रधानमन्त्री जुसेपे कोन्टेले केही दिनदेखि भाइरसको प्रभाव क्रमशस् कम हुन थालेपछि प्रतिबन्ध खुकुलो पारिएको बताए । कोन्टेले केही दिनको अवस्थालाई मूल्यांकन गरी लकडाउन हटाउनेबारे निर्णय लिइने बताए ।

युरोपको सबैभन्दा बढी प्रभावित इटालीमा हालसम्म भाइरसका कारण २८ हजार ८ सय ८४ जनाको मृत्यु भइसकेको छ । २ लाख १० हजार ७ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । मृतक तथा संक्रमितको संख्यामा कमी आएको भन्दै इटाली सरकारले तीन साताअघि पुस्तक पसल, ड्राइक्लिनर्स, स्टेसनरीलगायत साना व्यवसाय खोल्न अनुमति दिएको थियो ।

प्रधानमन्त्री कोन्टेका अनुसार सैलुन तथा ब्युटीपार्लर जुनदेखि सुचारु हुने छन् । त्यस्तै, आइसक्रिम पार्लर, बार तथा रेस्टुराँले पनि जुन १ देखि मात्र पूर्णरूपमा सेवा दिन सक्नेछन् । विद्यालयहरूमा भने सेप्टेम्बरबाट मात्र पठनपाठन सुरु हुने कोन्टेको भनाइ छ ।

इटालियन प्रिमियर लिग, सभा सम्मेलन लगायतका ठूला आयोजना सञ्चालन हुने मितिबारे भने केही उल्लेख गरिएको छैन । कोन्टेले सबै क्षेत्रमा सामाजिक दूरी कायम गर्नु अत्यावश्यक रहेको बताए । उनले मानिसहरूलाई एक–अर्काबीच कम्तीमा ३ फिटको दूरी कायम गर्न आग्रह गरेका छन् ।

लकडाउन खुकुलो भएसँगै मानिसहरू दैनिक क्रियाकलापमा फर्के पनि इटालीको अर्थतन्त्रबारे भने निकै प्रभावित भएको छ । युरोक्षेत्रको तेस्रो अर्थतन्त्र इटालीमा सन् १९३० को विश्वव्यापी मन्दीपछिकै ठूलो मन्दी आउने लगभग निश्चित छ ।

आधाजसो कामदारलाई सरकारले सहयोग गरेको छ । तर अन्य त्यति नै कामदार भने बेरोजगार हुने देखिएको छ । भाइरसका कारण बेरोजगार भएका कतिपयले भने कोन्टे नेतृत्वको सरकारले देशलाई आर्थिक संकटबाट मुक्त गर्नेमा शंका व्यक्त गर्छन् । ‘म निकै चिन्तित छु । कसरी अघि बढ्ने भन्नेबारे सरकारी निकाय आफैं अनिर्णीत छन्,’ ३७ वर्षीय डेभिड नापोलियोनीले भने ।