काठमाडौं उपत्यकामा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात

maitrinews

 

काठमडौं । काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार दिनभर नै काठमाडौं उपत्यकाको मौसम खराव हुनेछ ।

त्यस्तै पहाडी भूभागमा वर्षाका साथै हिमाली भूभागमा हिमपात हुनेछ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागहरुका केही स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भूभागहरुका केही स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न। १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

मौसमविद् श्रेष्ठले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एकैपटक बढेर ९।५ डिग्री सेल्सियस पुगेको बताए । वर्षा भइरहेकाले र मौसममा बदली आएकाले तापक्रम बढेको उनले बताए ।

यसअघि नेपालमा ०।८ डिग्री सेल्सियससम्म तापक्रम झरेको थियो ।