कोभिड–१९ विरुद्ध दोश्रो चरणको खोप अभियान सुरु
काठमाडौं । कोभिड–१९ विरुद्धको दोश्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । यस अन्तरगतको आज पहिलो दिन ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान खोप लगाई दोस्रो चरणको खोप अभियान शुभारम्भ गर्नुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।
आजदेखि सुरु हुने खोप अभियानमा १० दिनसम्म ६५ वर्ष माथि उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखी खोप लगाइने र ११ औँ दिनदेखि बाँकी १० दिनसम्म ५५ वर्ष माथिका नागरिकलाई खोप लगाइने मन्त्री त्रिपाठीले बताउनुभयो ।
मन्त्री त्रिपाठीले देशभर ६ हजार बढी खोप केन्द्रबाट सञ्चालन हुने खोप अभियानको यस चरणमा ३७ लाख व्यक्तिलाई खोप लगाइने लक्ष्य रहेको जानकारी गराउनुभयो ।
मन्त्रालयका अनुसार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पायक पर्ने खोप केन्द्रमा खोप लगाइने छ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।
