काँग्रेसले किन ल्यायो सार्वजनिक महत्वको प्रस्ताव ?

 

काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले रोजगारी गुमाएर स्वदेश फर्केकालाई काम र अन्य सुविधासम्बन्धी मार्गचित्र बनाउन सरकारलाई दबाब दिने उद्देश्यले प्रतिनिधि सभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएकाहरूलाई पुनःस्थापन र स्वदेशमै रोजगारी दिन पहल नगरेको भन्दै कांग्रेस सांसद डिला संग्रौलाले उक्त प्रस्ताव दर्ता गरेकी हुन् । ‘
प्रस्तावमा भनिएको छ, ‘प्राथमिकताका आधारमा रोजगारी सिर्जना, तालिम, सहुलियतयुक्त ऋण तथा बजारसमेत सुनिश्चित गर्न स्पष्ट मार्गचित्र बनाउन सरकारलाई झकझक्याउन संसद्ले पहल गर्न अत्यावश्यक भएकाले यो प्रस्ताव ल्याइएको हो ।’

प्रस्तावमा कोरोनाकै कारण वैदेशिक रोजगारीका क्रममा कतिको मृत्यु भयो, कतिले रोजगारी गुमाए, कति स्वदेश फर्किए, त्यसको विस्तृत तथ्यांक सरकारसँग मागसमेत गरिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएकालाई सरकारका तर्फबाट भएको सहयोगबारे समेत जानकारी दिन भनिएको छ । ‘प्रदेश सरकार र स्थानीय निकायसँग समन्वय गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने योजना के छ रु,’ प्रस्तावमा उल्लेख छ ।

कांग्रेसकै सांसदहरूले संकल्प प्रस्तावसमेत दर्ता गरेका छन् । सांसद संग्रौला, हीरा गुरुङ र नमिताकुमारी चौधरीले प्रतिनिधिसभामा महिला हिंसा, घरेलु हिंसाविरुद्ध आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् । उक्त प्रस्तावमा सरकारले निर्देशिका बनाई स्थानीयस्तरमा स्थानीय संरक्षण अधिकृत नियुक्त गरी घरेलु हिंसाबाट पीडित भएकालाई सेवा दिन सहायता कक्ष ९हेल्प डेस्क० स्थापना गर्न जरुरी भएको उल्लेख छ । पीडितमाथि कुनै किसिमको दबाब वा यातना नदिन मोबाइल टोली गठन गरी कम्तीमा एकपटक पीडितको घरमा प्रहरीलाई निरीक्षण गर्न लगाउनुपर्ने कानुनी व्यवस्थाको माग गरिएको छ । राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्त गरी आयोगलाई पूर्णता दिनुपर्नेलगायतका विषय संकल्प प्रस्तावमा उल्लेख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *