कोरोनाका कारण नेपालमा सवा तीन खर्ब क्षति, पुनरुत्थानलाई साढे छ खर्ब आवश्यक

maitrinews

 

काठमाडौँ । नेपालमा कोरोनाका कारण सवा तीन खर्ब क्षति भएको छ । यसको पुनरुत्थानलाई साढे छ खर्ब आवश्यक पर्ने देखिएको छ ।
गत वर्ष चैत ११ गते लकडाउन घोषणा गरिएपछि नेपालीहरूले चीनबाट सुरु भएर विश्वव्यापी फैलिएको कोरोनाभाइरस महामारी आफ्नै दैलोमा आइपुगेको अनुभूति गरे।

यो एक वर्षको अवधिमा करिब पौने तीन लाख मानिस सङ्क्रमित भए भने तीन हजारभन्दा धेरैको ज्यान गयो।

जनस्वास्थ्यका अतिरिक्त महामारीले सबभन्दा धेरै प्रभाव जनजीविकामा पार्‍यो।

पछिल्ला केही वर्षहरूमा नेपालको आर्थिक वृद्धिदर लगातार झन्डै सात प्रतिशतको हाराहारीमा उक्लिरहेको थियो।

अचानक आइपरेको कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न अपनाइएका लकडाउन जस्ता उपायका कारण आर्थिक वर्ष २०७६÷७७ को कुल गार्हस्थ्य उत्पादन जीडीपीको वृद्धि वा आर्थिक वृद्धिदर झन्डै दुई प्रतिशतले ऋणात्मक हुनपुग्यो।
अर्थात् अघिल्लो वर्षको तुलनामा उक्त अवधिमा देशको अर्थतन्त्र खुम्चियो।
सरकारले सुरुमा आकलन गरेकोभन्दा त निकै धेरै असर देशको अर्थतन्त्रमा परेको छ। यत्तिको धेरै असर आर्थिक वृद्धिमा पर्ला भन्ने ठानिएको थिएन, अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले भन्नुभयो।

सरकारले महामारी हुँदाहुँदै पनि सवा दुई प्रतिशतले अर्थतन्त्र विस्तार हुनसक्ने ठानेकोमा अहिले तथ्याङ्क विभागले नै १.८८ प्रतिशतले अर्थतन्त्र खुम्चिएको आँकडा प्रस्तुत गरेको छ।