सीमा बन्द र लकडाउन हुँदैन
काठमाडौँ । कोरोना संक्रमण फेरि बढेसँगै सीमा बन्द र लकडाउन हुने हो कि भनी चर्चा सुरु भएको छ । तर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन र सीमा बन्द नगरने बताउनुभएको छ ।
कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने उहाँले स्पष्ट गर्नुभयो ।
अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच छैन भन्नुभयो ।
‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ। अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सुचारू पनि गर्नुपर्ने आवश्यकता छ। त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं। अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन। त्यो अहिले उपयुक्त पनि हुँदैन, उहाँले भन्नुभयो
