अन्ततः फिर्ता लिए अविश्वास प्रस्ताव

maitrinews

 

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ । त्यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भएको छ ।

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।
एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिनुभयो ।

यसअघि नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरुविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।
गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल—नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।