नेपाली आकासमै फोन र इन्टरनेट सुविधा
काठमाडौं । नेपाली आकाशमा उडान गर्दा विदेशी एयरलाइन्सले दूरसञ्चार सेवा उपलब्ध गराउन पाउने भएका छन्।
१० हजार फिटमाथिको उचाइमा फोन कल, इन्टरनेट तथा एसएमएस सुविधा प्रदान गर्न पाउने गरी नेपाल दूरसञ्चार प्राधिकरणले निर्णय गरेको हो। प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार चैत ९ गते बसेको बोर्ड बैठकले यस्तो सुविधा प्रदान गर्नसक्ने गरी अनुमति दिने निर्णय गरेको हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओको अनुमति प्राप्त एयरलाइन्सले यस्तो सुविधा उपलब्ध गराउन सक्ने प्राधिकरणले जनाएको छ। आईकाओको अनुमतिका आधारमा प्राधिकरणले विदेशी एयरलाइन्सलाई ‘नो अब्जेक्सन’ उपलब्ध गराउनेछ। यसरी सेवा उपलब्ध गराउँदा नेपालभित्रको फ्रिक्वेन्सी प्रणालीमा भने कुनै अवरोध हुन नहुने प्राधिकरणले स्पष्ट पारेको छ। फ्रिक्वेन्सी अवरोध हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै १० हजार फिटमाथिको उचाइमा मात्र यस्तो सुविधा दिन पाउने गरी प्राधिकरणले अनुमति दिने प्रवक्ता पौडेलले बताउनुभयो ।
छिमेकी देश भारतले पनि सन् २०१८ डिसेम्बरमा भारतीय आकाशमा विदेशी तथा भारतीय जहाजहरूले इन्टरनेट तथा फोन कल गर्नसक्ने सुविधा खुला गरेको थियो। त्यस्तै कतार एयरलाइन्स, सिङ्गापुर एयरलाइन्स, इत्तिहादलगायत नेपालमा उडान सेवा उपलब्ध गराइरहेका ठूला जहाज कम्पनीले पनि यस्तो सुविधा उपलब्ध गराइरहेका छन्। यद्यपि नेपाली आकाशमा इन्टरनेट प्रयोग गर्न पाउने व्यवस्था नभएकाले अहिलेसम्म त्यस्ता एयरलाइन्सले यो सुविधा उपलब्ध गराउन पाएका छैनन्।