गण्डकी प्रदेश सभाका सत्तारुढ प्रदेश सदस्यहरुव्दारा नै प्रदेशसभा अवरुद्ध

maitrinews

पोखरा । पिसिआर परीक्षण नगरी प्रदेश सभा संचालन गरेको भन्दै प्रदेश सभाको विशेष अधिवेशन प्रारम्भ हुनासाथ एमालेका सांसदहरुले बैठकमा उठेर संसद अवरुद्ध पारेका छन् ।

एमालेका सांसदहरुले पिसिआर परिक्षणका माग गरेका छन् । सभामुख नेत्रनाथ अधिकारीले किन उठेर संसद अवरुद्ध पारेको भन्ने प्रश्नको जवाफ दिंदै एमालेका सांसद राजीव पहारीले सबै सांसदको पिसिआर परीक्षण नगरी सांसद चल्न नसक्ने जवाफ दिए ।

कोरोनाले सांसदलाई पनि नछाड्ने भन्दै उनले संक्रमण कै कारण कोही सांसद र कर्मचारीको मृत्यु भएमा जिम्मेवारी कस्ले लिने भनेर प्रतिप्रश्न गरेका थिए । उनले कोरोना भ्याक्सिनको दोस्रो डोज लिनु पर्ने र पिसिआर अनिवार्य रुपमा गराउनु पर्ने भनेका छन् । तर सभामुख अधिकारीले कार्य व्यवस्था समितिको सर्वसम्मतीले नै बैठक बोलाएको भन्दै एमाले सांसदहरुलाई बस्न आग्रह गरेको थिए तर नमाने पछि सदन २० मिनेटका लागि स्थगित गराए ।

संसदमा सोमवारदेखि सरकार विरुद्ध आएको अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकार टिकाउन पिसिआरको बहाना बनाएर सत्तापक्षले नै संसद अवरुद्ध गरेको विपक्षी सांसदहरुले आरोप लगाएका छन् ।