माथिल्लो तामाकोशीको मुख्य सुरुङमा पानी हालियो

maitrinews

 

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेबाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले आज संयुक्त रुपमा पानी पठाउने कार्यको शुभारम्भ गर्नुभएको हो ।

देशको गौरव स्वदेशी लगानीको सबैभन्दा ठूलो र आधुनिक नेपालको महत्वपूर्ण आयोजनाबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुग्नु आफैमा सुखद कुरा भएको बताइएको छ । दोलखाको लामावगरमा रहेको ४५६ मेघावाट विद्युत् क्षेमताको आयोजना हालसम्मकै सबैभन्दा ठूलो लगानीको परियोजना पनि हो ।

समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने कोशेढुङ्गा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय, बाँध, इन्टेक र अन्य संरचनाहरुको अवलोकनसमेत गर्नुभएको छ । त्यस्तै लामाबगरको गोंगरस्थित विद्युत गृहको पनि अवलोकन गर्नुभएको छ । केहीदिनभित्रै उक्त आयोजनाबाट विद्युत उत्पादन कार्य हुने र त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ ।

सुरुङमा पानी खसाल्ने कार्यको शुभारम्भमा उर्जामन्त्री टोपबहादुर रायमाझीसमेत जाने कार्यक्रम रहेपनि कोरोना संक्रमणका कारण उहाँ अनुपस्थित हुनुभएको हो । त्यसैगरी मन्त्रीद्धयले चीन जोड्ने लामाबगर लप्ची सडकको सूरुङ मार्ग बनाउने स्थलको पनि निरीक्षण गर्नुभएको छ ।