काठमाडौंको लकडाउनमा विवाह, मृत्यु तथा विरामीको हकमा केही खुकुलो
काठमाडौं। काठमाडौंमा कोरोना महामारीको कारण विगत एक सातादेखि जारी लकडाउनमा विवाह, मृत्यु तथा विरामीहरुको हकमा केही खुकुलो पारेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने जनाएको छ । त्यसका लागि जिल्ला व्यानरका आधारमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति पनि लिनुनपर्ने भएको छ।
मृत्यु संस्कारका लागि सवारी पास लिन मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस र परिचय खुल्ने कागजात चाहिने जिल्ला प्रशासन कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ । बिरामी वा कुरुवालाई भने अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डको आधारमा आवतजावत गर्न दिने भएको छ । बिरामी भई काठमाडौं आउन वा बाहिर जान रिपोर्ट कार्ड वा भर्ना कार्ड चाहिनेछ ।
सुरक्षा गार्डहरुले परिचयपत्र देखाएर र पोशाक लगाएर हिँडडुल गर्न पाउनेछन् । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा दोस्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा अर्थात लकडाउनको आदेश जारी गरेको छ ।