रसुवाको भोटेकोसीमा चालकसहित खसेको इभी गाडीको खोजी कार्य जारी

रसुवा, १० साउन । चीनबाट आयात गरी काठमाडौँतर्फ लैजाँदै गरिएको एक नयाँ विद्युतीय गाडी रसुवाको भोटेकोसी नदीमा खसेर बेपत्ता भएको छ। गाडीसँगै बेपत्ता भएका चालकको खोजीका लागि आइतबार बिहानैदेखि सुरक्षा निकायले उद्धार कार्यलाई तीव्र पारेको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार शनिबार साँझ गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित चलिमे जलविद्युत् केन्द्र अगाडिको सडकबाट उक्त गाडी नदीमा खसेको हो। भन्सार जाँचपास गरी काठमाडौँ लैजाँदै गरिएको उक्त गाडी दुर्घटना हुँदा कालिका गाउँपालिका–३ का २२ वर्षीय चालक सविन तामाङ बेपत्ता हुनुभएको छ।

शनिबार राति १०ः०० बजेसम्म दुर्घटनास्थलदेखि माथिल्लो त्रिशूली जलविद्युत् आयोजना–२१६ को बाँध (ड्याम) क्षेत्रसम्म ड्रोनको समेत प्रयोग गरी खोजी गरिएको भए पनि गाडी र चालकको अवस्था पत्ता लाग्न सकेको थिएन।

नदीमा पानीको बहाव तीव्र भएकाले शनिबार राति खोजी कार्य प्रभावित भएको थियो। आज आइतबार बिहानैदेखि सुरक्षा निकायका टोलीले पुनः संयुक्त रूपमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो।