सुनिता डंगोलको परिकल्पनामा आयोजित ‘टोल–टोलमा फिल्म महोत्सव’ सफल, सुझावसहित आगामी संस्करणको तयारी

काठमाडौँ, १० साउन । काठमाडौँ महानगरपालिकाले पहिलो पटक आयोजना गरेको ‘टोल–टोलमा फिल्म महोत्सव’ को समीक्षा गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित, प्रभावकारी र सहभागितामूलक बनाउने तयारी थालेको छ। कार्यवाहक मेयर सुनिता डंगोलको परिकल्पनामा आयोजना गरिएको ‘टोल–टोलमा फिल्म महोत्सव’ पूर्ण रूपमा सफल भएको भन्दै आयोजकले समीक्षा बैठकमार्फत आगामी वर्ष कार्यक्रमलाई अझ परिष्कृत र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

महोत्सव सम्पन्न भएपछि प्राप्त भएका सुझाव, प्रतिक्रिया र अनुभवलाई समेटेर भविष्यका कार्यक्रमलाई थप सुदृढ बनाउने उद्देश्यले समीक्षा बैठक आयोजना गरिएको हो। समुदाय स्तरमा चलचित्र संस्कृतिको विस्तार, स्थानीय सहभागिता अभिवृद्धि तथा सिर्जनात्मक उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको महोत्सवको उपलब्धि, चुनौती तथा सुधारका विषयमा छनोट तथा व्यवस्थापन मूल्यांकन समितिका पदाधिकारीबीच विस्तृत छलफल भएको थियो।

समीक्षा बैठकमा काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक एवं महोत्सव छनोट तथा व्यवस्थापन मूल्यांकन समितिका अध्यक्ष आशामान संगत ले पहिलो प्रयास भएकाले केही कमीकमजोरी हुनु स्वाभाविक रहेको उल्लेख गर्दै त्यसबाट प्राप्त अनुभवलाई आगामी कार्यक्रम सुधारको आधार बनाइने बताउनुभयो।

उहाँले महोत्सवले समुदायमा उत्सवको वातावरण सिर्जना गर्न सफल भएको उल्लेख गर्दै प्रतिकूल मौसमका बाबजुद पनि दर्शकको उत्साह उल्लेखनीय रहेको बताउनुभयो। वर्षा भइरहेका बेला पनि दर्शक कार्यक्रमस्थलमा उत्साहपूर्वक सहभागी भएको उल्लेख गर्दै महानगरले केही नयाँ र सकारात्मक काम गर्छ भन्ने नागरिकको विश्वासका कारण महोत्सवले व्यापक जनसहभागिता पाएको उहाँको भनाइ थियो।

संगतले पहिलो संस्करणलाई उत्कृष्ट सुरुवातको संज्ञा दिँदै आगामी वर्ष अझ परिष्कृत र प्रभावकारी रूपमा महोत्सव सञ्चालन गरिने विश्वास व्यक्त गर्नुभयो। साथै, चलचित्र निर्माता तथा फिल्मकर्मीलाई कार्यक्रमस्थलमै औपचारिक सम्मान र परिचय गराउने पक्षमा यसपटक केही कमजोरी भएको स्वीकार गर्दै भविष्यमा त्यसलाई सुधार गरिने बताउनुभयो।

यस्तै, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राई ले समुदाय स्तरमै चलचित्र प्रदर्शन गर्ने अवधारणाले स्थानीय तहमा सिर्जनात्मक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। महोत्सव सफल बनाउन सह-आयोजकका रूपमा सक्रिय भूमिका निर्वाह गर्ने स्थानीय संस्था तथा समुदायको योगदान उल्लेखनीय रहेको भन्दै उहाँले सबैप्रति आभार व्यक्त गर्नुभयो।

राईका अनुसार समीक्षा बैठक औपचारिकतामा सीमित नराखी प्राप्त सुझाव, सिकाइ र अनुभवलाई गम्भीर रूपमा विश्लेषण गरी आगामी वर्षको कार्यक्रमलाई अझ सिर्जनात्मक, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको हो। उहाँले कार्यवाहक मेयर सुनिता डंगोल को परिकल्पनामा सुरु गरिएको यस अभियानले समुदायमा चलचित्रप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय संस्कृति र सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने नयाँ अभ्यासको सुरुवात गरेको बताउनुभयो।

बैठकमा सहभागी समितिका सदस्य तथा पदाधिकारीहरूले महोत्सव सञ्चालनका क्रममा देखिएका सकारात्मक पक्ष, व्यवस्थापनका अनुभव, सुधार गर्नुपर्ने विषय तथा दीर्घकालीन योजनाबारे आफ्ना धारणा राखेका थिए। उनीहरूले सरकारी तहबाट सिर्जनात्मक उद्योग प्रवर्द्धन गर्ने पहलको प्रशंसा गर्दै चलचित्रलाई हलभित्र सीमित नराखी समुदायसम्म पुर्‍याउने उद्देश्य सफल भएको बताएका छन्। समुदायमा व्यावसायिक चलचित्रबाहेक अन्य प्रकारका फिल्मबारे समेत जनचासो बढाउन महोत्सवले सकारात्मक भूमिका खेलेको उनीहरूको निष्कर्ष थियो।

छलफलका क्रममा बौद्धिक सम्पत्ति (इन्टेलेक्चुअल प्रोपर्टी) संरक्षण, दीर्घकालीन नीति निर्माण, चरणबद्ध योजना, व्यवस्थापन सुधार तथा सामाजिक सञ्जालमार्फत महोत्सवले पाएको सकारात्मक प्रतिक्रियालाई आगामी संस्करणमा थप सुदृढ बनाउने विषयमा पनि जोड दिइएको थियो।

महानगरपालिकाका अनुसार ‘टोल–टोलमा फिल्म महोत्सव’ ले चलचित्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी समुदाय, संस्कृति र सिर्जनात्मक उद्योगलाई जोड्ने साझा अभियानका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। समीक्षा बैठकबाट प्राप्त सुझावहरूलाई आगामी कार्यक्रमको योजनामा समावेश गर्दै महोत्सवलाई अझ व्यवस्थित, प्रभावकारी र नागरिक सहभागितामूलक बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, आयोजकले कार्यवाहक मेयर सुनिता डंगोलको परिकल्पनामा सुरु गरिएको यो अभियान पहिलो संस्करणमै अपेक्षाभन्दा बढी सफल भएको उल्लेख गर्दै आगामी वर्ष अझ व्यापक सहभागिता, थप गुणस्तरीय चलचित्र प्रदर्शन तथा समुदायमै आधारित सांस्कृतिक गतिविधिसहित महोत्सवलाई निरन्तरता दिइने जनाएको छ।