शक्तिशाली टाइफुन ‘नाउल’ दक्षिणी चीनमा ठोक्कियो, ७ लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

एजेन्सी, १० साउन । शक्तिशाली समुद्री आँधी (टाइफुन) ‘नाउल’ दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ प्रान्तसहितका क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ। आँधीको जोखिमलाई मध्यनजर गर्दै सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ उडान र रेल सेवा अवरुद्ध भएका छन्।

चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार ‘नाउल’ आइतबार बिहान ३:५० बजे दक्षिणी ग्वाङडोङ प्रान्तको हुइझोउ सहरअन्तर्गत हुइडोङ काउन्टीको तटीय क्षेत्रमा ठोक्किएको हो। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यो वर्ष चीनमा ठोक्किएको यो सबैभन्दा शक्तिशाली टाइफुन हो।

हङकङको मौसम विभागका अनुसार आँधीको केन्द्रविन्दु नजिक हावाको गति प्रतिघण्टा ११० किलोमिटरसम्म पुगेको थियो। ग्वाङडोङको भित्री भूभागतर्फ अघि बढ्ने क्रममा यो आँधी क्रमशः कमजोर बन्दै गएको छ।

सुरक्षा सतर्कता अपनाउँदै ग्वाङडोङ प्रान्तबाट सात लाख १५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चाइना नेसनल रेडियोले जनाएको छ। आँधी र खराब मौसमका कारण आइतबारका लागि सो क्षेत्रका विभिन्न रेल सेवाहरू रद्द गरिएको थियो भने हङकङ विमानस्थल प्राधिकरणका अनुसार करिब ३५० वटा हवाई उडान रद्द भएका छन्। हङकङका अधिकारीहरूले आँधीका कारण सहरभर कम्तीमा नौ जना घाइते भएको पुष्टि गरेका छन्।

सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार तटीय हुइलाइ काउन्टीमा तीव्र हावाहुरीका कारण ठूलो सङ्ख्यामा रूखहरू ढलेका छन्। हङकङनजिक शनिबार एउटा अग्लो भवनमा जडान गरिएको मचानको केही भाग भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार ताइवानको दक्षिणी समुद्री क्षेत्र हुँदै आँधी अघि बढेपछि त्यहाँको दक्षिणी तथा पूर्वी क्षेत्रमा पनि वर्षा भएको छ।

यसै महिनाको सुरुमा टाइफुन ‘भाभी’ का कारण पूर्वी चीनमा ठूलो प्रभाव परेको थियो, जसका कारण २० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए। ‘भाभी’ गत जुलाई ११ मा चीनको भूमिमा ठोक्किएको थियो भने त्यसअघि जुलाई ३ मा टाइफुन ‘मेसाक’ दक्षिणी चीनमा ठोक्किएको मौसम अधिकारीहरूले जनाएका छन्।