रिट दर्ता गर्न विपक्षी गठबन्धन सर्वोच्च अदालत पुग्यो
काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेका छन्। १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत आएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन। अदालत परिसरमा देउवासहित पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु रहेका छन्।
फर्जी हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दावी पेश गर्ने देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको दाबीलाई अस्वीकार गर्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा मन्त्रीपरिषदको निर्णय सहित सरकारको सिफारिसमा संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । जेठ ७ मा देउवाले १४९ सांसदको हस्ताक्षरसहित आफूलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिकहाँ निवेदन हालेका थिए। उनीअघि नै प्रधानमन्त्री ओलीले पनि आफूलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १५३ जनाले समर्थन गरेको भन्दै निवेदन हालिसकेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले दुबैको निवेदनमा दाबी नपुगेको भनी नियुक्ति गरिनन्। प्रधानमन्त्री ओलीको सिफारिसमा उनले प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेकी थिइन्।
विपक्षी पाँच राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनालगायत चार वटा माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्।