प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन

 

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका ३० वटा रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमसशेर राणाले आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास गठन गरेका छन्। संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

तीमध्ये प्रधानन्यायाधीश राणाले आफूपछिका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई रोजेका छन्। त्यसपछिका वरिष्ठमध्ये चार जनालाई छोडेर उनले न्यायाधीश आनन्दमोहन भट्टराईलाई छानेका छन्। त्यसपछिका तीन न्यायाधीश छोडेर न्यायाधीश तेजबहादुर केसी र नेकपा विघटन गरेर एमाले र माओवादी केन्द्र ब्युँताउने न्यायाधीश बमकुमार श्रेष्ठ पनि इजलासमा राखेका छन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश हुनुपर्ने संवैधानिक व्यववस्था छ। न्यायपरिषदले भने संवैधानिक इजलासका लागि सर्वोच्चका १४ न्यायाधीशको सूची बनाएको थियो। एक न्यायाधीशले अवकास पाएपछि तीमध्ये १३ न्यायाधीशमात्रै कार्यरत छन्।