आज गणतन्त्र दिवस मनाइँदै

maitrinews

 

काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् ।
चौधौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेका सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण पुनः तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
विगतमा टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा आयोजना गरिएको छ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले शनिबार बिहान सैनिक मुख्यालयमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गरिएको बताए ।

जनआन्दोलन २०६२र६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।