एमालेले सुदूरपश्चिममा मन्त्री बनेका र निवर्तमानलाई साधारण सदस्य समेत नरहनेगरी हटायो
धनगढी । नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका एक मन्त्री र दुई निवर्तमान मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।
बिहीबार स्पष्टीकरण सोधिएका संसदीय दलका नेता तथा नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टलाई पार्टीबाट निष्कासन गरिएको हो।
नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले उनीहरुलाई पार्टीले कारवाही गरेको जानकारी दिए।
स्थायी कमिटी बैठकले दिएको निर्देशन नमानेको विषयमा सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष थापाले बताए।