प्रेमीसँग मिलेर लोग्नेको हत्या

 

कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेता दिपक पाण्डेयको हत्यामा संलग्न ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक पाण्डेकी श्रीमती महिमा पाण्डेयसमेत छिन् ।

मृतककी श्रीमती पाण्डेय र ओमप्रकाश यादवबीच विगत तीन वर्षदेखि अनैतिक सम्बन्धमा रहेकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वर्षदेखि नै दुवै मिलेर दीपक पाण्डेयलाई मार्ने योजना बनाएको पनि अनुसन्धानबाट खुलेको छ ।

योजना अनुसार नै यादवले विभिन्न समयमा विभिन्न व्यक्तिलाई दिपक पाण्डेयलाई मार्न सुपारी समेत दिएका थिए । जेठ ५ गते दिपक पाण्डेयको गोली हानी घाइते बनाए पछि पाण्डेयको उपचारको क्रममा जेठ १० गते मृत्यु भएको थियो । हत्याको मुख्य योजनाकार मृतक पाण्डेयको श्रीमती महिमा पाण्डेय र ओमप्रकाश यादव रहेको अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न रमजान साह मुसालमान, साकिर अलि पाखिया, पुर्णविर पाल्पाली कुम्हाल, सद्धाम हुसेन, ज्ञानेन्द्र कुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम चौधरी, नसरत अलि र प्रविण गुप्तालाई प्रहरीले सर्वजनिक गरेको छ । घटनामा संलग्न हातहतियारसहित पक्राउ परेका र उक्त हातहतियार खरिद बिक्री, ओसारपसार कार्यमा संलग्न सम्पूर्णलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम कपिलवस्तु जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।