देउवाविरुद्ध साझा उम्मेदवारको खोजी

 

काठमाडौं । काँग्रेस संस्थापन इत्तर पक्षबाट सभापतिमा आकांक्षा देखाएका नेताहरुबीच साझा उम्मेदवार छनोटका विषयमा सामुहिक छलफल भएको छ ।

सभापतिमा दाबी प्रस्तुत गरेका ८ जनाबीच भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसी सहभागी थिए ।

बलबहादुर बाहेक सबैजनाले सभापतिमा दाबी गरेका छन् । बैठकको संयोजन गरेका नेता केसीले संस्थापन इतरबाट एकजना मात्रै सभापतिको उम्मेदवार उठाउने प्रस्ताव अगाडि सारेका थिए । त्यसमा सकारात्मक छलफल सुरु भएको केसीको भनाइ छ ।
छलफलले एकताको सम्भावना बढाएको केसीको दाबी छ । उनले रातोपाटीसँग भने, ‘सके पार्टीभित्रै नसके हाम्रो समूहभित्र एकता गराउन प्रयास गर्ने सहमति भएको छ । छलफल निरन्तर रहनेछ । हिजोको छलफल सकारात्मक रुपमा सकिएको छ ।’

यस्तै नेतृ सुजाता कोइरालाले पनि सहमति हुनेमा आफू विश्वस्त रहेको बताइन् । उ

नेता शेखर कोइरालाले पनि एउटै उम्मेदवारीका विषयमा बैठक सकरात्मक रहेको बताए । उनले भने, ‘ म पछि हट्छु भनेर कसैले भन्नुभएको छैन । को बन्ने भन्नेमा सहमति बन्न सकेको छैन । एउटा उम्मेदवार दिन्छौं भन्नेचाहिँ सहमति हो ।’

यस्तै नेता सिंहले पनि साझा उम्मेदवार दिने विषयमा छलफल केन्द्रित रहेको तर एउटालाई अरूले छोड्ने कुरा भने नभएको बताए ।

संस्थापन इत्तर पक्ष आगामी महाधिवेशनमा मिलेर जानुपर्ने केसीको जोड छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई दिएको योगदान, त्याग र अनुभवलाई साझा उम्मेदवार छनोटको मोडल बनाउनुपर्ने बताएका छन् ।