दार्चुलाबाट छानविन समिति फर्कियो

 

दार्चुला । भारतीय सीमा सुरक्षा बलले तुइन फुकालिदिँदा यहि साउन १५ गते महाकालीमा वेपत्ता भएका व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसहि धामीको घट्नाबारे छानविन गर्न दार्चुला पुगेको समिति फर्किएको छ ।
साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित छानबीन समिति आठ दिनको दार्चुला बसाईपछि बैतडी हुँदै फिर्ता भएको हो । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घट्नाबारे जानकारी लिने र महाकाली नदीसँग सीमा जोडिएका जिल्लाहरुका सुरक्षा अधिकारीहरुसँग भेटघाट गरेर जयसिंहको खोजिका लागि समन्वय गर्ने जनाएको छ । जयसिहको खोजि गर्न ड्रोन क्यामरासहितको नेपाल प्रहरीको प्राविधिक टोली आइतबारदेखि दार्चुलामै छ । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन क्यामेरा प्रयोगको लागि अनुमति दिनेरनदिने बारेमा जवाफ नपठाएको कारण अहिलेसम्म ड्रोन क्यामरा प्रयोग नगरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
सीमा क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्न दुबै देशको सहमती आवश्यक पर्छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई महाकाली नदी क्षेत्रमा ड्रोन क्यामरा प्रयोगका लागि सहमति माग गरेपनि मंगलबार विहानसम्म जवाफ प्राप्त भइनसकेको छानविन समिति सदस्य एबं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले जानकारी दिनुभयो ।
भारतीय पक्षले जवाफ नदिए ड्रोन क्यामरा नेपालतिरकै भू–भागबाट प्रयोग गर्ने नेपाली पक्षको तयारी रहेको प्रहरीले जनाएको छ । व्याँस गाउँपालिका–२ मालघाटदेखि दार्चुला सदरमुकामको २५ किलोमिटर क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने तयारी छ ।
सरकारले छानबीन समितिलाई १० दिन भित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको थियो । समितिलाई दिइएको समय बुधबार ९भोलि० सकिदैछ । तर प्रतिवेदन तयार पार्ने काम अझै नसकिएकोले निर्धारित समयमा प्रतिवेदन बुझाउने सम्भावना न्यून रहेको छ । प्रतिवेदन बुझाउन केहि दिन ढिलो पनि हुनसक्ने समिति संयोजक जनार्दन गौतमले बताउनुभयो ।
छानबीन समितिले दार्चुलामा बस्दा नेपाल र भारत दुवैतर्फबाट घट्नास्थलको निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयबासी, घट्नाका प्रत्यक्षदर्शी र सुरक्षा निकायसँग छलफल गरेर सूचना संकलन गरेको छ । पीडित परिवारलाई भेटेर समेत समितिले छलफल गरेको संयोजक गौतमले जानकारी दिनुभयो । सरोकारवालाहरुको सुझाव, सुरक्षाकर्मी र प्रतक्षदर्शीको बयानका आधारमा घटनाको बिश्लेषण गर्दै प्रतिवेदन तयार पार्ने काम भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *