माथिल्लो तामाकोसीबाट ४५६ मेगावाट विद्युत् उत्पादन
दोलखा । स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा परीक्षण उत्पादन थालेको छ । मंगलबार आयोजनाबाट ४५६ मेगावाट नै विद्युत् उत्पादन भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।
‘मंगलबारबाट आयोजनाका सबै ६ वटै युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ,’ उनले भने, ‘४ वटा युनिटबाट उत्पादित ३०४ मेगावाट विद्युत् यसअघि नै व्यावसायिक रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।’
माथिल्लो तामाकोसीका प्रत्येक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुन्छ । यसअघि ४ युनिटबाट परीक्षण उत्पादन भइरहेको थियो । मंगलबार बाँकी २ युनिटबाट पनि १५२ मेगावाट विद्युत्को परीक्षण उत्पादन सफलताका साथ सम्पन्न भएको हो । उक्त विद्युत् पनि २२० केभी देवीटार सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनको भनाइ छ । गत असार २१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उद्घाटन गरेका थिए । भदौ १५ सम्ममा सबै युनिटबाट व्यावसायिक उत्पादन थाल्ने आयोजनाको लक्ष्य छ । ‘समय तालिकासँगै परीक्षण उत्पादन थालेका थियौं,’ उनले भने, ‘अब लक्ष्य टाढा छैन, सबै युनिटको परीक्षण सफल भयो ।’
३५ अर्ब ३३ करोड रुपैयाँमा निर्माण सक्ने गरी २०६७ सालमा सुरु भएको यो आयोजनाले ११ वर्षपछि पूर्ण रूपमा उत्पादन थालेको हो । तर हालसम्म ८४ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्ने श्रेष्ठले बताए । उनका अनुसार तामाकोसीमा दोस्रो चरणमा रोल्वालिङ खोलाको पानी पनि खसाल्ने तयारी छ । थप २२ मेगावाट विद्युत् उत्पादन गर्ने गरी रोल्वालिङ खोला डाइभर्सन आयोजना निर्माण पनि सुरु भइसकेको छ । रोल्वालिङ खोला आयोजनामा मिसाइएपछि वार्षिक २ हजार ४ सय ४८ गिगावाट पर आवर विद्युत् उत्पादन हुनेछ ।