आज गाईजात्रा पर्व मनाइँदै

maitrinews

 

काठमाडौँ । भदौ कृष्ण प्रतिपदाका दिन दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी नेवार समुदायमा मृतकको स्मृतिमा निकै श्रद्वाका साथ गाईजात्रा मनाउने प्रचलन छ ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल हुनुभएकी रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन यो जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ । यिनै राजा प्रताप मल्लले जो जसका घरमा मानिस मरेका छन्, ती घरबाट गाई ल्याऊनूू भनेर उर्दी दिएकाले आशौच परेका घरबाट गाई शृङ्गार गरेर हनुमानढोका दरबारमा उपस्थित गराउने चलनअनुसार यो पर्व मनाउँदै आइएको छ ।

केही वर्षयता नेवारी बस्ती विकास भएको मुलुकका विभिन्न भागमा समेत यो दिन गाईजात्रा मनाउने गरिन्छ । जात्रामा आएकालाई पितृको स्मृतिमा फलाहार र दक्षिणा दिने प्रचलन पनि छ । निकैपछि यो पर्वलाई व्यङ्ग्यात्मक प्रहसन प्रस्तुत गरेर कुण्ठित भावलाई उजागर गर्ने गरिएपछि यसले जात्राका रूपमा लिएको हो भनिन्छ । ओमबहालस्थित धर्मचक्र महाविहारका गुठियार भुवन शाक्यका अनुसार निकै संवेदनशील र भावना जोडिएको यो पर्व जात्रामा परिणत हुनु राम्रो होइन, ठट्टा रमाइलोको विषय यो पर्वमा हुन सक्दैन भन्ने मत पनि सहर बजारमा विकसित भइरहेको छ । भक्तपुरमा गाईजात्राका दिन गरिँदै आएको प्रतियोगितात्मक प्रदर्शन कोरोना सङ्क्रमणबाट बच्न बचाउन रोकिएको छ । भक्तपुर नगरपालिकाले यसको आयोजना गर्दै आएको थियो ।
भक्तपुरस्थित महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याका अनुसार यो दिन यहाँ हुने प्रसिद्व घिन्ताघिसी नाच सामान्य जमघटबीच हुन्छ भने मृतकको तस्बिर टाँसेर बाँसको त्रिखुट्टी बोक्ने तायमचा प्रदर्शन यहाँ हुन्छ । पाटनमा मृतकको स्मृतिमा द्वीप प्रज्वलन गर्दै नगर परिक्रमा गरिने मतयाः भने मङ्गलबार गर्ने तयारी छ ।