मन्त्री डा. शाक्यको सक्रियतामा विपद् व्यवस्थापनका लागि सहयोग उपलब्ध गराउने निर्णय

maitrinews

 

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसी विभिन्न विषयमा छलफल तथा निर्णय गरेको छ । उक्त बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिवहरू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक एवं नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका अध्यक्ष भोला रूपाखेतीको सहभागिता रहेको थियो ।
उक्त बैठकमा प्रदेशको विपद्को अवस्थाबारे छलफल हुनुका साथै विभिन्न निर्णय भएका छन् ।

मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निमाण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०७७ को दफा ५ को उपदफा (३) अनुसार लागत सहभागिताका लागि प्रदेश सरकारबाट व्यहोरिने ३० प्रतिशत रकम नुवाकोट र सिन्धुपाल्चोक जिल्लाबाट मागभई आएको हुँदा प्रदेश विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ता रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई उपलब्ध गराउने निर्णय भएको छ ।
सिन्धुपाल्चोकमा अस्थायी आवासका लागि एक करोड ८८ लाख ७७ हजार पाँच सय रुपियाँ, नुवाकोटका लागि सात लाख ६५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय भएको छ ।

यस बर्षको मनसुनजन्य बाढी पहिरो लगायत विपद्का घटनाहरूबाट क्षति पुगेका निजी घर परिवारहरूलाई बागमती प्रदेश सरकारका तर्फबाट तत्काल गुजाराका लागि प्रतिपरिवार अधिकतम रू १० हजार सम्म जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम वितरण गर्ने गरी सिन्धुपाल्चोक जिल्लालाई ३६ लाख ६० हजार र दोलखा जिल्लालार्ई ९ लाख ३० हजार रुपियाँ प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराउने निर्णय भएको छ ।