चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइँदै

maitrinews

 

काठमाडौँ । बडादसैँ अर्थात् नवरात्रिको आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाइँदै छ ।

हिन्दु धर्मावलम्बीहरूले वैदिक विधिमार्फत आजका दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरिन्छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने धर्म शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

चन्द्रघण्टा देवीले शिरमा अर्ध चन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको हुन्छ । यस्ति देवीले अत्याचारी दानवी स्वरूपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरूपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुन्छ ।

घटस्थापनाको दिनदेखि सुरु भएको नवरात्रिको तेस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हुन्छ घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ ।

यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा ९कलश०को वरिपरि राखिएको मध्ये आज नौ वटा देवीको स्वरूपको प्रतिमूर्ति मध्ये तेस्रो प्रतिमूर्तिमा आज चन्द्रघण्टा देवी मानी पूजा गर्ने गरिन्छ ।

दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने र माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुने गरेको नेपाल वेद विद्याश्रमका प्राध्यापक शिवराज लामिछाने बताउनुहुन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्ति पीठमा पूजा आराधना एवम् दर्शनार्थीको भीड लाग्ने र घटस्थापनामा छरेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ ।

यस वर्षको विजया दशमी यही असोज २९ गते शुक्रवार परेको छ । सोही दिन बिहान देवी विसर्जन गरेपछि शुभ साइतमा मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ उहाँले भन्नुभयो ।

नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भई व्रत बस्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको छ ।

“नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ”, उहाँले थप्नुभयो ।

पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, उखु, कुभिन्डो आदि स्मार्तबलि गरी दुई प्रकारको हुन्छ । बलि प्रदान गरिसकेपछि तेस्रो दिनको कार्य समापन गरिने उहाँको भनाइ छ ।