दसैंमा सटही हुन्छ ५५ अर्बको नयाँ नोट

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षको दसैंमा नयाँ नोट सटहीलाई विशेष प्राथमिकता दिने गरेको छ । दसैंको समयमा पुराना नोटको सट्टामा नयाँ नोट दिने प्रचलन रहेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थाले आफ्ना काउन्टर मार्फत नोट सटही सुविधा दिने गरेका छन् ।

विगतका वर्षहरुमा नयाँ नोट सटहीका लागि लामो लाइन हुने भएकाले नेपाल राष्ट्र बैंकले सुचना जारी गरि १ महिना अगाडी बाटै नयाँ नोट सटही सुविधा उपलव्ध गराएको छ । ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाँका नयाँ नोट सटही सुविधा उपलव्ध गराउने गरिएको छ । प्रत्येक नोटका बण्डलहरुमा १०० नोट नोट राखिएको हुन्छ । सेवाग्राहीहरुले दसैंमा दान दक्षिणा दिनका लागि ५ देखि १०० सम्मका नोटहरु माग गर्ने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ५०० र १००० नयाँ नोटहरु अन्य नोटको तुलनामा कम माग हुने गरेको छ ।

दसैंमा मागका आधारमा नयाँ नोट सटही गरिने नेपाल राष्ट्र बैंकले बताए पनि प्राय प्रतिव्यक्ति १८ हजार ५०० सम्मको दिइने गरेको छ । बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सटहीका लागि अतिरिक्त जनशक्ति र समय छुट्याउनुपर्ने तथा नोट ढुवानी एंव वितरणका लागि लाग्ने अतिरिक्त लागतलाई बिचार गरी उक्त सिमा निर्धारण गरिएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षको दसैंमा ५० देखि ५५ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने गरेको छ । यो वर्षको दसैंमा पनि उक्त हाराहारीमा नयाँ नोट सटही हुने अनुमान केन्द्रीय बैंकको छ । ठ्याक्कै परिमाण नै तोकेर भन्दा पनि सेवाग्राहीको मागनुसार नयाँ नोट सटही गरिने गरिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउनुभयो ।