सम्पदा पुनर्निर्माणले गति लियो

maitrinews

 

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका भूकम्पबाट क्षतिग्रस्त २९ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये अहिले २३ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले हनुमानढोका दरबार क्षेत्रका सम्पदाको ८० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भइसकेको जानकारीसमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हामी जतिसक्दो छिटो वसन्तपुर दरबार क्षेत्रलाई टेकोमुक्त र सम्पदा ठडिएको बनाउन चाहन्छौँ, जुन छिट्टै सार्थक हुँदै छ ।’’
उहाँले अगाडि भन्नुभयो, ‘‘हनुमानढोका दरबार क्षेत्रका सम्पदामध्ये क्षतिग्रस्त २१ वटाको काम अहिलेसम्म सुरु नै भएका छैनन् भने १८ वटाको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छैन ।’’ उहाँका अनुसार हनुमानढोका दरबार क्षेत्रमा प्रमुख ६९ र त्यसका चोक, आँगन र बहाल २२ वटा गरी कुल ९१ वटा सम्पदा रहेका छन् ।

चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको ८० प्रतिशत काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘नौतले दरबारको पुनर्निर्माण गर्नुपर्ने भवनको निर्माण सम्पन्न भइसकेको छ । गजुर र घन्ट राख्नेलगायत भित्रको ‘फिनिसिङ’को काममात्र बाँकी छ । चिनियाँ प्राविधिक टोली नआएसम्म काम अगाडि बढाउने अवस्था छैन ।’’
युनेस्कोद्वारा बहुमूल्य सम्पदाका रूपमा सूचीकृत विश्वका स्मारक र स्थानलाई विश्व सम्पदा भन्ने गरिन्छ । युनेस्कोले अहिलेसम्म काठमाडौँ उपत्यकाको तीनवटा ऐतिहासिक दरबार, दुईवटा बौद्ध स्तूप र दुई हिन्दु मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । त्यसैगरी, उपत्यकाबाहिर लुम्बिनी, चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।