आज कागतिहार र कुकुरतिहार मनाइँदै

maitrinews

 

काठमाडौँ । यस पटक कागतिहार र कुकुरतिहार आज एकैदिन परेको छ । विहान पहिले कागको पूजा त्यसपछि कुकुरको पूजा गरी काग र कुकुर तिहार मनाइँदैछ ।

पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । यस पटक त्रयोदशी टुटेकोले आज चतुर्दशीका दिन सुरुमा काग तिहार मनाउन लागिएको हो । मूलतः काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र ?

कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।

काँ काँ गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश बोकेर ल्याउने जनश्रुती रहेको छ, काग एउटा बाठो पन्छी हो र यस्ले हाम्रो वालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्राहरुलाई खाईदिएर अन्न उत्पादनमा र मांशजन्य फोहेरहरु खाईदिएर सरसफाईमा सहयोग गर्दछ । त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । हाम्रो वैदिक सनातन संस्कारमा टेक्ने माटो देखि श्वाँस फेर्ने हावा अनि वर्षीने वादलदेखि गर्जिने वाघसम्म, कुकुर देखि काग अनि बोटविरुवासम्म सबैकुरामा पवित्रता र भगवानतत्वको गुण स्वीकारिएको छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुन्द्र मन्थनका क्षण उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।्््

यसैगरी तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ । बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ ।