तिहारमा विजुली अभाव नहुने

maitrinews

 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको छ । पत्रकार सम्मेलन गर्दै प्राधिकरणले मागअनुसार विद्युत् दिन कुनै समस्या नरेको बताएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नपर्ने बताउनुभयो।

‘अहिले पनि हाम्रो आन्तरिक उत्पादन दिनमा २ सय मेगावाट र रातिमा ५ सय मेगावाटसम्म मागभन्दा बढी छ,’घिसिङले भन्नुभयो,’त्यसैकारण जति विद्युतको माग आएपनि हामी तिहारमा उपभोक्तालाई बिजुली दिन्छौं ।’

उहाँले ग्राहकलाई ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्न आग्रह गर्नुभयो। सो दिनमा प्रायः उद्योगहरु बन्द भएकाले घरायसी र व्यापारिक माग मात्रै हुन्छ । यही कारण प्रणालीमा सो दिनमा पनि ‘पिक डिमान्ड’ले रकर्ड नराख्ने प्राधिकरणको प्रक्षेपण छ ।

‘बाहिर प्राधिकरणले सो दिनमा मागअनुसार बिजुली आपूर्ति गर्न सक्दैन कि भन्ने आंशका छन्,’ घिसिङले भन्नुभयो,’ तर, हामी जति माग आए पनि त्यसको व्यवस्थापनका लागि सक्षम छौं ।’

घिसिङले २०७३ सालको लक्ष्मी पूजाकै दिनमा काठमाडौंमा लोडसेडिङ हटाउने योजनाको परीक्षण गर्नुभएको थियो । त्यसअनुसार २०७५ वैशाखदेखि उद्योगहरुबाट समेत लोडसेडिङ हटेको थियो ।

४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजनासहित अरु केही नयाँ आयोजना प्रणालीमा थपिएकाले पिक आवरमा माग व्यवस्थापन गर्न समस्या नपर्ने बताइएको छ ।