प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिने

maitrinews

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दबाबकाबीच तत्काल राजीनामा नदिने बताएका छन् । उनले अबको तीन महिनापछि विदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सारेका छन् ।

आफूसँग कुराकानी गर्न सर्वोच्च अदालतका न्यायाधीशहरुले गठन गरेको तीन सदस्यीय कार्यदलसँग यस्तो प्रस्ताव गरेको सर्वोच्च अदालत उच्च स्रोतले बताएको छ ।

‘अहिलेकै रुपमा उहाँहरुले राजीनामा मागेर असहयोग गर्नुभयो भने मैले पनि संवैधानिक बाटोबाट मात्रै निकास हुन्छ भनेर जवाफ दिनुपर्ने हुन्छ’ सर्वोच्च अदालत उच्च स्रोतले प्रधानन्यायाधीश जबराको भनाइ उधृत गर्दै भन्यो, ‘मलाई सम्मानजनक बहिर्गमनको अवसर दिने हो भने तपाईंहरु पनि पछि हट्नुस् । मैले पनि केही समयपछि अवकाशको बाटो लिन्छु भनेर प्रस्ताव गर्नुभएको छ ।’

सर्वोच्च अदालतका न्यायाधीशहरुले अनौपचारिक रुपमा गठन गरेको कार्यदलमा न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र डा।मनोजकुमार शर्मा छन् ।
प्रधानन्यायाधीश जबराले आफूमाथिको आरोप फिर्ता लिएर न्यायाधीशहरु काममा फर्केमा तीन महिना प्रशासनिक काममात्रै गर्ने, थप एक महिना विदा बसेर अवकाश लिने प्रस्ताव पठाएका छन् ।