किन गर्छ एसएसबी जवर्जस्ती नेपाल प्रवेश ?

maitrinews

 

परासी । अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै भारतीय सशस्त्र सीमा बल एसएसबीले नेपाली भूमिमा प्रवेश गरेर जमिन नापजाँच गर्नुका साथै आकाशमा ड्रोन उडाएको घटनामा नेपाली पक्षले गरेको ध्यानाकर्षणलाई भारतीय प्रशासनले बेवास्ता गरेको छ ।

एसएसबीको फौज बिनाअनुमति नेपाली भूमि प्रवेश गरेको विषयमा असन्तुष्टि जनाउँदै स्थानीय प्रशासनले भारतीय समकक्षी निकायको ध्यानाकर्षण गराउने प्रयास गर्दा भारतीय पक्ष सम्पर्कमै आउन चाहेन । सोमबार स्थलगत निरीक्षणमा पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहितको सुरक्षा टोली सुस्तापारि सीमा इलाकामा तैनाथ भारतीय सुरक्षाकर्मीमार्फत एसएसबीको घुसपैठबारे मौखिक ध्यानाकर्षण गराएर फर्किएको हो ।

प्रजिअ मिश्रले एसएसबीबाट नेपाली भूमिमा भएको अनधिकृत प्रवेशबारे भारतीय समकक्षी पश्चिम चम्पारण ९बेतिया० का डिस्ट्रिक मजिस्ट्रेट ९जिल्लाधिकारी० कुन्दन कुमारसँग आइतबारै सम्पर्क गर्ने प्रयास गरेका थिए । तर, उनले नेपाली प्रशासनसँग कुनै कुरा गर्न चाहेनन् । निरीक्षणका क्रममा प्रजिअ मिश्रले पुनः जिल्लाधिकारी कुमारसँग नेपाली भूमिमा एसएसबी प्रवेश गरेको विषयमा ध्यानाकर्षण जनाउन सम्पर्क प्रयास गरे । कुमारले फोन नउठाएपछि मिश्रसहितको नेपाली टोली एसएसबीका सुरक्षाकर्मीलाई ध्यानाकर्षण गराएर फर्किएको हो ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित गण्डक ब्यारेजको पानी रोक्न बनाइएको एक नम्बर बाँध ९ठोक्कर० नजिकैबाट नेपाली भूमि प्रवेश गरी आइतबार एसएसबीको फौजले अनधिकृत रूपमा आकाशमा ड्रोन उडाउनुका साथै जमिन फित्ताले नापेको थियो । त्यसलगत्तै गृह मन्त्रालयले घटनाको सत्यतथ्य पेस गर्न जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीलाई निर्देशन दिएको थियो ।

‘भारतीय सुरक्षाकर्मी बिनाअनुमति नेपाल पसेको पाइयो, त्यसक्रममा नेपाली जमिन नापजाँच पनि गरेका रहेछन्,’ प्रजिअ मिश्रले कान्तिपुरसँग भने, ‘यस घटनाबारे समकक्षीलाई ध्यानाकर्षण गराउन चाहेका थियौं तर सम्पर्क हुन सकेको छैन, सीमा क्षेत्रमै रहेका भारतीय सुरक्षा संयन्त्रमार्फत बिनाअनुमति नेपाल प्रवेश नगर्न र यस्ता गतिविधि नगर्न भनेका छौं ।’ तीनतर्फबाट नारायणी नदी र एकतर्फबाट भारतीय भूमिले घेरिएको सुस्तामा सोमबार प्रजिअ मिश्रसहित जिल्लास्थित सुरक्षा प्रमुखहरू भारतीय बाटो हुँदै पसेका थिए ।

नेपाली प्रशासनले समकक्षीसँग सम्पर्क प्रयास गर्दा कुनै ‘रेस्पोन्स’ नगर्नुले भारतीय हेपाहा प्रवृत्ति कुन रूपमा देखिएको छ भन्नेबारे स्पष्ट पारेको सीमा क्षेत्रमै खटिएका एक सुरक्षा अधिकारीले बताए । प्रजिअ मिश्रले सुस्ताको नेपाली भूमिमा प्रवेश गरेर एसएसबीका जवानले जमिन नापजाँच गरेको पुष्टि भएको जानकारी दिए । यस विषयमा जिल्ला सुरक्षा समितिको बैठक डाकेर छलफल गर्न लागिएको र चम्पारणका जिल्लाधिकारीसँग सम्पर्क प्रयास पनि जारी रहेको प्रजिअ मिश्रले बताए ।