६० जिल्लाका निर्वाचन क्षेत्रमा काँग्रेस अधिवेशन हुँदै

 

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ । आजदेखि ६० जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन प्रक्रिया शुरु हुने केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार १३ हिमाली जिल्लाको जिल्ला अधिवेशन यसअघि नै सकिएको छ । हाल थप तीन जिल्लाहरु म्याग्दी, सोलुखुम्बु र जाजरकोटको जिल्ला अधिवेशन पनि सकिएर १६ जिल्लाले अधिवेशन पूरा गरेका छन् ।

क्रियाशील सदस्यता विवादका कारण सिन्धुपाल्चोक, रसुवा र सर्लाहीले निर्वाचन क्षेत्र प्रदेशसभा क्षेत्रीय अधिवेशनसमेत गरेका छैनन् । प्रदेशसभा क्षेत्रीय अधिवेशन नभई प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन हुन सक्दैन ।

सोमबारदेखि ६०वटै जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन शुरु हुने र प्रदेशसभा क्षेत्रीय अधिवेशनको परिणाम आउन बाँकी रहेका ठाउँमा समेत आजैदेखि प्रक्रिया शुरु हुने सचिव श्रेष्ठले बताउनुभयो ।