कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत : पक्षमा ५७ र विपक्षमा २२ मत

विराटनगर, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको छ । उहाँलाई सत्ता साझेदार दल नेकपा (एमाले) का ४० र नेकपा (माओवादी केन्द्र) का १७ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २२ जना सदस्यले मतदान गरे । कांग्रेसका कूल २९ सदस्य रहे पनि मतदानमा २२ जना मात्र विपक्षी कित्तामा उभिएका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुखसहित ५ जना सदस्यहरू भने मतदान प्रक्रियामा तटस्थ बसेका छन् ।

आजको मतदान प्रक्रियामा कूल ८३ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए । जनता समाजवादी पार्टी (जसपा) की एक मात्र सांसद निर्मला लिम्बू बैठकमा अनुपस्थित रहनुभयो भने एक जना सदस्यले यसअघि नै राजीनामा दिइसक्नुभएको छ ।

मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै सरकारलाई थप सुदृढ बनाउने बाटो खुलेको छ ।