निधिले प्यानलसहित उम्मेदवारी दर्ता गराउने
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औपचारिक रुपमा सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । साथै उहाँले आफ्नो पक्षको प्यानलै बनाएर उम्मदेवारी दर्ता गर्नेसमेत घोषणा गर्नुभएको छ । निधिले आफ्नो प्यानलमा रहने नेताहरूको नाम भने सार्वजनिक गर्नुभएको छैन ।
नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयमा घोषणापत्रसहित सञ्चारकर्मीसँग प्रस्तुत भएका निधिले मंसिर २१ गते सभापतिमा उम्मेदवारी दर्ता गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म सभापतिको उम्मेदवार छु, रहन्छु । आज चुनावी घोषणापत्र पनि जारी गरेको छु । मंसिर २१ गते केन्द्रीय सभापतिमा मैले उम्मेदवारी दर्ता गराउँछु ।’